काठमाडौं, भदौ ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन बुझ्नुभएको छ । क्रियाशील सदस्यता विवाद मिलाउन गठित कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहनुभएका देउवा र नेता पौडेललाई छानबिन प्रतिवेदन बुझाउनु भएको हो ।
यसअघि बारा, सप्तरी, धनुषा, रौतहट, सर्लाहीलगायतका जिल्लाका क्रियाशील सदस्यता विवाद मिलाउन नसकेपछि रमेश लेखक संयोजक रहेको छानबिन समितिले अपुरो प्रतिवेदन बुझाएको थियो । त्यसपछि कांग्रेस पदाधिकारी बैठकले नेता सिटौला संयोजक रहेको डा.मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदल गठन गरेको थियो । कार्यदललाई भदौ २ गतेसम्मको समय दिइएको थियो । तर, त्यो समयमा प्रतिवेदन तयार भएन र सोमबार राति बुझाइएको हो ।
कार्यदलका सदस्य रिजालका अनुसार अब कांग्रेसका क्रियाशील सदस्य सबैको नामावली प्रकाशन गरिनेछ ।













प्रतिक्रिया दिनुहोस्