जनता टाइम्स

८ भाद्र २०७८, मंगलवार ०८:००

आजको मौसम : कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?


काठमाडौं, भदौ ८ । आज मुलुकका चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने देखिन्छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभागभन्दा केही दक्षिण तिर रहेको र विस्तारै तराई केन्द्रित हुँदै गएकाले मनसुन सक्रिय बनेको महाशाखाका मौसमविद्ले बताएका छन् ।

आज राति देशभर बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बुधबार मुलुकका धेरै ठाउँमा वर्षाको आँकलन गरिएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बुधबार रातिबाट मनसुन अझ सक्रिय रहने महाशाखाका अनुमान छ ।

राति गण्डकीका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । बिहीबार देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाको आँकलन छ।