जनता टाइम्स

८ भाद्र २०७८, मंगलवार ११:४७

हामीलाई छाडेर माधव नेपालले धोका दिनुभो : गोकर्ण विष्ट


काठमाडौं, भदौ ८ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले माधव नेपालले पार्टी विभाजन गरेर धोका दिएको बताउनुभएको छ । राजनीतिक, सांगठानिक र नैतिक कुनै पनि हिसाबले पार्टी विभाजन सही नहुने भन्दै आफूहरुलाई धोका दिएको बताउनुभयो ।

उहाँले एक रेडियो कार्यक्रममा भन्नुभयो,‘हामीले जेमा अडान राखेका थियौं, त्यसमा कमरेड माधव नेपालसँगै लामो समयसम्म लडेका हौं । उहाँले एक शब्द नसोधी अनायासै पार्टी विभाजन गर्नुभयो । सिंगो पार्टी पंक्तिका लागि विभाजन नै धोका हो । दल विभाजनसम्बन्धी अध्यादेश आउँदै छ भन्ने हामी माधव पक्षकै १४ जना स्थायी कमिटी सदस्यलाई थाहा दिनुभएन । यस हिसाबले माधव नेपालले हामीलाई छाड्नुभएको छ, हामीले उहाँलाई छाडेको होइन । तपाईंले एउटै रेडियो या टेलिभिजनमा संवादमा राख्नुभयो भने स्पष्ट हुन्छ, उहाँले हामीसँग कुनै सल्लाह किन गर्नुभएन ?’

उहाँले आफूहरुले पार्टी एकतालाई जोड दिएको भन्दै थप्नुभयो,‘हामीले पहिलेदेखि नै लगातार पार्टी एकतामा जोड दियौं । त्यसको अर्थ न आत्मसमर्पण हो, न त विभाजन हो । म माधवकुमार नेपाल, झलनाथ खनाललगायतका कमरेडहरुलाई अपमान हुने कुनै अपशब्द प्रयोग गर्दिनँ । १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीभित्रै भविष्य खोजौं भन्ने मेरो भनाइ हो । माधव नेपाललाई पार्टीमै फर्कनोस् भन्न चाहन्छु । माधव नेपालबिनाको एमाले बनाउने हाम्रो चाहना होइन ।’