जनता टाइम्स

८ भाद्र २०७८, मंगलवार १५:१०

१४ जनाको हस्ताक्षरलाई मान्यता नदिन एमालेको दबाब : माधवले बुझाएको ५८ हस्ताक्षरमा ७ जना हस्ताक्षर खाली


काठमाडौं, भदौ ८ । नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी र संसद सदस्यबाट कारवाही गरिएका १४ जनाको हस्ताक्षर दल विभाजनमा मान्य नहुने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहितको टोली आज आयोगमा पुगेर दल विभाजनका लागि दिएका निवेदन र हस्ताक्षर गर्नेहरूको विवरण लिएको हो । एमालेले माधव नेपालसहित १४ जनालाई भदौ १ गते नै निष्कासन गरेको विवरण आयोगमा बुझाइसकेको भन्दै उनीहरूको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेको छ ।

आयोगबाट फर्केपछि एमाले नेता खरेलले सभामुखले एमालेको कारवाहीलाई अघि बढाएनन् भन्दैमा निर्वाचन आयोगले कानूनविपरीत जान नमिल्ने बताउनुभयो । एमालेले भदौ १ गते १४ सांसदलाई पदमुक्त गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको थियो । उहाँहरुलाई पार्टी सदस्यबाट निष्कासनमा परेको पत्र निर्वाचन आयोगमा समेत सोही दिन बुझाइएको थियो । नेपालले भदौ २ गते नेकपा एमाले विभाजनका लागि नयाँ दल दर्ताका निवेदन दिनुभएको थियो । पार्टीले निष्कासन गरिसकेका व्यक्तिले एमाले केन्द्रीय सदस्यको हैसियतमा दल विभाजनमा हस्ताक्षर गरेकोमा त्यो मान्य हुन नसक्ने खरेलले बताउनुभयो ।

१४ जना सांसदमध्ये ९ जना केन्द्रीय सदस्य छन् । त्यस्तै एमालेले जसले दल विभाजनको बेला हस्ताक्षर गरेका छन् उहाँहरूको मात्र सनाखत हुनुपर्ने र व्यक्ति आफैं उपस्थित भएर गरेको सनाखत मात्र मान्य हुने बताएको छ । एमालेका ५८ केन्द्रीय सदस्यले दल विभाजनमा समर्थन गरेको भनेर पेश गरिएको निवेदनमा ७ जनाको हस्ताक्षर नरहेको आयोग स्रोतले जनाएको छ । दल दर्ताको निवेदन दिने बेला हस्ताक्षर गरेका बाहेक अरु नयाँ थपेर सनाखत नगर्न समेत एमालेले आयोगको ध्यानाकर्षण गराएको छ । आयोगले माधव नेपाल पक्षलाई सनाखतका लागि बुधबार ११ देखि २ बजेको समय तोकेको छ । आयोगले सनाखतका लागि सशरीर उपस्थित हुनुपर्ने बताएको छ ।