विराटनगर, भदौं १० । नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले आज राजीनामा दिने हुनुभएको छ । मुख्यमन्त्री राईले आज बस्ने संसदीय दलको बैठकमा दलको नेताबाट राजीनामा दिई पार्टी सचिव भीम आचार्यलाई दलको नेता चयन गर्ने प्रस्ताव अनुमोदन गराएपछि मुख्यमन्त्रीबाट राजीनामा दिन लाग्नुभएको हो ।
यही प्रयोजनका लागि नेकपा एमाले संसदीय दलको बैठक आज बस्न लागेको छ । सोही बैठकबाट मुख्यमन्त्री राइले पदबाट राजीनामा दिएर भीम आचार्यलाई दलको नेता चयन गरिने छ । बैठकमा अनिवार्य उपस्थित हुन भन्दै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा गएका भनिएका सांसदलाई समेत बोलाइएको छ । आज नै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी भइरहेको मुख्यमन्त्र राईको सचिवालयले जनाएको छ ।
९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमालेसँग ५१ सांसद रहेका छन । सभामुखसमेत एमालेकै रहेको र एक सांसद अदालतले दोषी ठहर गरेपछि फरार छन् । एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।
एकीकृत समाजवादीमा एमालेको केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद राजेन्द्रकुमार राई र राजन राई माधव समुहतिर लाग्नुभएको छ । प्रदेश १ मा एमालेबाट नेपाल नेतृत्वको समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको दाबी छ । तर परिस्थितिमा फेरबदल आएसँगै अहिले त्यो संख्या घटिसकेको छ ।













प्रतिक्रिया दिनुहोस्