जनता टाइम्स

१० भाद्र २०७८, बिहीबार १६:३६

जनसंगठनमा १० बुँदे कार्यान्वयन गर्न एमालेले बनायो कार्यदल


काठमाडौं, भदौ १० । नेकपा एमालेले दश बुँदे सहमतिलाई तत्काल कार्यन्वयन गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको आज बसेको बैठकले पार्टी एकताको मर्मलाई ध्यान दिँदै पार्टीका सबै कमिटी र जनसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्ने निर्णय लिएको हो ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले जनवर्गीय संगठनहरूलाई २०७५ जेठ २ अघिको अवस्थाबाट क्रियाशील बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी रहनुभएको छ ।

यो कार्यदलले सबै जनवर्गीय संगठनहरूमा १० बुँदे कार्यान्वयनको मोडालिटी बनाउने र त्यसलाई आवश्यक परे अर्को कार्यदलले सहजीकरण गर्ने प्रवक्ता ज्ञवालीले बताउनु भयो । हाल अनेरास्ववियू, युवा संघ, महिला संघ, किसान महासंघ, खेलकुद महासंघलगायतका जनवर्गीय संगठनमा जेठ २ अघिको नेतृत्व फेरिएकाले अब नयाँ ढंगले टुंगो लगाउन कार्यदल बनाइएको एमालेले जनाएको छ ।