जनता टाइम्स

११ भाद्र २०७८, शुक्रबार ११:५२

देउवासँग निर्णायक वार्ता गर्ने पौडेल पक्षको निर्णय, यस्तो छ बटमलाइन


काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्णायक वार्ता गर्ने भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारेस्थित निवासमा आज बिहान बसेको वरिष्ठ नेता पौडेल पक्षधर नेताहरुको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन देउवासँग निर्णायक वार्ता गर्ने निर्णय गरेको हो ।

बैठकपछि डा. मिनेन्द्र रिजालले दिनुभएको जानकारीअनुसार महाधिवेशन तोकिएकै मितिमा सुरु गर्न देखिएका व्यवहारिक कठिनाई समाधानका लागि अग्रसरता लिने निर्णय भएको छ । बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंहसहित महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. शेखर कोइरालालगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।