काठमाडौं, भदौ ११ । माधव नेपालको गढ भनेर चिनिने सिन्धुपाल्चोकमा अधिकांश नेता एमालेमै रहने घोषणा गरेका छन । बिगतमा माधव नेपाललाई साथ दिँदै आएका सवै नेताहरु माधवले गम्भीर गल्ती गरेको भन्दै एमालेमै रहने निर्णय गरेका हुन ।माधव पक्षीय भनेर चिनिएका नेताहरुले पार्टी विभाजनको पक्षमा नभएको भन्दै आफूहरु एमालेमै रहेको बताएका छन् । नेताहरु अमृतकुमार बोहोरा, अरुण नेपालसँगै जिल्ला अध्यक्ष झम्क नेपाल र स्थानीय तहमा एमालेबाट जितेका जनप्रतिनिधिसहितको बैठकले पार्टी विभाजनको पक्षमा नलाग्ने निर्णय गरेको हो ।
‘पार्टीभित्र अन्तरसंघर्ष हुनु स्वभाविक हो, तर हामी पार्टी विभाजनको पक्षमा छैनौं’ एमाले नेता एवम् वागमती प्रदेशका पूर्वमन्त्री अरुण नेपालले जनताटाइम्ससँग भन्नुभयो , ‘हामी सधैं एकताकै पक्षमा थियौं, छौं ।’ जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्नेदेखि जिल्ला तहका नेता र सबै जनप्रतिनिधि समेत सवै एमालेमै रहने घोषणा गरेका छन ।
वागमती प्रदेशभित्रका १३ जिल्लामा एमालेभित्र माधव पक्षको बर्चश्व रहेको जिल्ला सिन्धुपाल्चोक मानिन्थ्यो । जिल्ला नेतृत्वदेखि स्थानीय तह र केन्द्रसम्म प्रतिनिधित्व गर्ने प्रायः सबै नेता कार्यकर्ता नेपाल पक्षमा हुनुहुन्थ्यो । विभाजनसँगै शेरबहादुर तामाङ संस्थापनमा लागे पनि अन्य नेताहरु नेपाल पक्षमै थिए । नेपाल एमालेमै रहँदा सबैभन्दा बढी प्रभाव रहेको सिन्धुपाल्चोकबाट भने माधव नेपालको नयाँ दलमा जानेको संख्या अत्यन्तै न्यून देखिएको हो । राष्ट्रियसभाका सांसद सिंहबहादुर विक भने एकीकृत समाजवादीमा लाग्नुभएको छ । अर्का प्रदेश सांसद इन्द्रमाया गुरुङले चाहिँ कुन दल रोज्ने भन्ने स्थिति आएपछि मात्रै दल रोज्ने बताउनु भएको छ ।
सिन्धुपाल्चोकका १२ स्थानीय सरकारमध्ये एमालेले सात वटामा जितेको थियो । एमालेबाट जितेका सबै जनप्रतिनिधिले एमालेमा नै रहने बताएका छन् । जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ र लिसंखुपाखर गाउँपालिकाकी उपाध्यक्ष हेमगंगा मोक्तान यसअघि नै संस्थापनमा हुनुहुन्थ्यो । बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा र उपप्रमुख सुशीला पाख्रिन दुवै एमालेमा नै रहने हुनुभएको छ ।
लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल पनि एमालेमा नै रहने बताउनु भएको छ । माधव नेपाल एमालेमा नै रहँदा आफूहरु नेपाल विचार समूहमा भएपनि विभाजन भएको पार्टीमा भने नजाने उहाँले बताउनु भयो । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ र उपाध्यक्ष दुर्गादेवी नेपाल पनि एमालेमा नै रहने निर्णय गर्नुभएको छ । यसैगरी पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मो र उपाध्यक्ष सुनिता अधिकारी पनि एमालेमा नै रहने बताउनु भएको छ ।
बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री र मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल भने आफूहरु छलफल गरेर निर्णय गर्ने बताउनु भएको छ । यस्तै जुगल गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङ, मेलम्चीकी उपमेयर भगवती नेपाल, बलेफीकी उपाध्यक्ष कमला कायस्थ पनि एमालेमै रहने हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्