जनता टाइम्स

१२ भाद्र २०७८, शनिबार १०:५५

दलित समुदायलाई वितरण गरिएको धुवाँरहीत चुल्हो खरिदमा अनियमितता


जाजरकोट, १२ भदौ । जाजरकोटको भेरी नगरपालिका–११ कटी गाउँस्थित दलित वस्तीमा वितरण गरिएको धुवाँरहीत चुल्हो खरिदमा अनियमितता भएको पाइएको छ । धुवाँरहीत आधुनिक फलामे चुल्हो वितरण गर्ने भनि सम्झौता गरिए पनि टिनको कमसल खालको चुल्हो वितरण गरिएको हो । पूर्ण जातीय छुवाछुतमुक्त अभियान अन्र्तगत चुल्हो किनेर वितरण गरिएको थियो । टिनको चुल्हो भएकोले बाल्ने वित्तिकै निकै तातिने र टुट्ने थालेपछि भएपछि प्रयोग गर्न छोडेको स्थानीय दलबहादुर कामीले बताउनुभयो ।

चौरजहारीमा १७ सय पर्ने चुल्होलाई सुर्खेतबाट १० हजारमा ल्याएको नक्कली विल पेश भएको दाबी गरिएको छ । भेरी नगरपालिकाले चुल्हो खरीद र वितरणका लागि कटीगाँउ कृषक समूहसँग सम्झौता गरेको थियो । समूहमा नरबहादुर ऐर कामी अध्यक्ष, वीरमान वर कामी सचिव र मित्रकली वर कामी कोषाध्यक्ष छन् । समितिका अध्यक्ष नरबहादुर आफूलाई फसाइएको बताउँछन् । सस्तोमा खरीद गरेर समितिका पदाधिकारीलाई समेत गुमराहमा राखेर ठग्ने कार्य भएको उहाँको दाबी छ ।

उहाँका अनुसार कोषाध्यक्षका श्रीमान अमृत वर कामीले नै एक सय ३८ चुल्हो खरीद गरेर ल्याएका हुन् । विश्वासका आधारमा खाली चेकमा हस्ताक्षर गरेर आफूहरूले अमृतलाई दिएको र उसले सुर्खेतबाट चुल्हो किनेर ल्याएको उहाँले बताउनुभयो । अध्यक्ष नरबहादुरले नगरबाट १३ लाख ५६ हजार रुपैयाँ निकासा भएकोमा सम्झौता अनुसार अनुगमन र केही चुल्हो खरीदका लागि दुई लाख ५० हजार रुपैयाँ नगरपालिकालाई दिएको बताउनुभयो । त्यस रकमबाट २० वटा चुल्हो किनेर उपलब्ध गराएको बताउनुभयो । नगरले उपलब्ध गराएका चुल्हो राम्रो भएको तर समितिले खरीद गरेका चुल्हो निकै कमसल भएको उहाँले स्वीकार गर्नुभयो ।

कोषाध्यक्षका श्रीमान अमृतले विपन्न गाउँमा चुल्हो कार्यक्रमका लागि आफूले पहल गरे पनि खरीदमा आफ्नो संलग्नता नभएको दावी गर्नुभयो । भेरी नगरपालिका–११ नम्बरका वडाध्यक्ष लक्ष्मीप्रसाद आचार्यले पनि चुल्हो कमसल रहेको भन्दै स्थानीयबाट गुनासो आएको बताउुनभयो । नगरपालिकाले पूर्ण जातीय छुवाछुतमुक्त अभियान अन्तर्गत १४ लाख ७५ हजार रुपैयाँ गत असार ११ गते सम्झौता गरेर निकासा गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिश शाहले बताउनुभयो ।