जनता टाइम्स

१६ भाद्र २०७८, बुधबार ०९:३२

मिश्रजीलाई बैठक बोलाउने अधिकार छैन, उहाँ पार्टी फुटाउन लाग्नुभयो : पाण्डे


काठमाडौं, १६ भदौ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र पार्टी विभाजनको गतिविधिमा लागेको आरोप लगाउनुभएको छ । एकताको महाधिवेशन अघिसम्म अध्यक्ष र संयोजक दुवैको सहमतिमा बैठक बोलाउनु पर्ने विधानमा व्यवस्था भए पनि मिश्रले एकलरूपमा बैठक बोलाएर पार्टी विभाजनको बाटो लिएको आरोप पाण्डेको छ । ‘दुवै पार्टी एकीकरणका लागि बनाइएको विधानको धारा २० मा महाधिवेशनसम्म अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने उल्लेख छ,’ पाण्डेले भन्नुभयो,‘तर संयोजकको सहमति बिना नै उहाँले एकलरूपमा बैठक बोलाउनुभयो, जुन अधिकार उहाँलाई छँदै थिएन ।’

उहाँका अनुसार एकीकरणको मर्म, उद्देश्य तथा विधानविपरीत बैठक आह्वान गरेर पार्टीलाई विभाजन गराउने काम मिश्रले सुरुवात गर्नुभएको छ । ‘विधानविपरीत हुने गरी सहमति बिना नै एकलरूपमा बैठक बोलाउनु भनेको पार्टी विभाजन गराउनु हो, उहाँले पार्टी विभाजन गराइसक्नु भएको छ,’ पाण्डेको थप आरोप छ, ‘उहाँले विधानविपरीत बैठक बोलाएपछि बाध्य भएर मैले पनि बैठक आह्वान गर्नु परेको हो ।’ पाण्डेले विधानको व्याख्या गर्ने अधिकार अध्यक्षलाई नभई संयोजकलाई दिएको पनि दावी गर्नुभएको छ । ‘पार्टी विधानको धारा ६३ मा विधानको व्याख्या गर्ने अधिकार अध्यक्षलाई होइन, संयोजकलाई दिएको छ तर मिश्रजीले आफूखुसी व्याख्या गरेर एकताको मर्ममा प्रहार गर्नु भएको छ,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार मिश्रले पार्टीको उद्देश्यमाथि पनि कुठराघात गर्नुभएको छ । गत २५ मंसिरमा तत्कालीन साझा र विवेकशीलबाट ६५६५ जना केन्द्रीय समिति सदस्य रहने गरी एकीकृत भएका थिए । तर, एकीकरण भएको एक वर्ष नपुग्दै मिश्र र पाण्डे दुवै पक्षले अलग–अलगरूपमा १७ भदौका लागि केन्द्रीय समिति बैठक आह्वान गर्नुभएको छ । मिश्रले एकल रुपमा संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने नयाँ धारणा सार्वजनिक गरेपछि विवेकशिल साझामा विवाद बढेको थियो । पाण्डे समूह भने राजनीतिकरूपमा उपलब्ध संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा उभिँदै आएको छ । न्युज कारखाना