जनता टाइम्स

१७ भाद्र २०७८, बिहीबार १५:५२

पौडेल समूहले अझै घोषणा गर्न सकेन सभापतिका उम्मेदवार


काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज पनि सभापतिको उम्मेदवार घोषणा गर्न सकेन । पार्टी केन्द्रीय कार्यालय सानेपामा रामचन्द्र पौडेल समूहले पत्रकार सम्मेलनमार्फत आज सभापतिको उम्मेदवार घोषणा गर्ने बताइएको थियो । तर, पत्रकार सम्मेलनमा एउटै उम्मेदवार बनाउने मात्र जानकारी दिइयो ।

सभापतिका आकांक्षीहरुबीच सहमति हुन नसकेपछि नेताहरुले पत्रकार सम्मेलनमा एउटै उम्मेदवार बनाउने बताएका हुन् । ‘पार्टी बचाउन हामी एक भएर अगाडि बढ्छौं । हाम्रो एकता महाधिवेशनसम्मै अटुट रहन्छ,’ उहाँले भन्नुभयो । चार वर्षमा १४औं महाधिवेशन गरिसक्नुपर्ने भए पनि अहिलेको नेतृत्वमा उत्साह नदेखिएको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह केसीलगायतका नेता उपस्थित थिए । नेता पौडेलले सामूहिकतामा विश्वास गर्ने भएकाले आफूहरू सबै एकै ठाउँमा आएको बताउनुभयो । ‘पार्टी र लोकतन्त्र बचाउन हामी एकताबद्ध भएका हौं,’ उहाँले भन्नुभयो ।