दिलकुमार लिम्बु / ताप्लेजुङ, १८ भदौ
समूद्र सतहदेखि चार हजार दुई सय मिटर उचाईमा रहेको ताप्लेजुङको दुर्गम गाउँ याङमा बस्ती
ताप्लेजुङको हिमाली वस्ती याङ्माको यात्रा अविस्मरणीय रह्यो । ताप्लेजङ सदरमुकामदेखि लगभग तीन दिनमा पुगिन्छ हिमाली वस्ती । जिल्लाको दुर्गम र उच्च हिमाली क्षेत्रमा रहेको सो गाउँ पुग्ने जोकोहीले नाउर, पोखरीको सौन्दर्य, नजिकै हिमालको दृश्यावलोकन, सो गाउँको बसोबासशैलीले मन तान्ने गरेको छ । चीनको स्वशाशित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोलाको याङ्मा समुद्र सतहदेखि चार हजार दुई सय मिटरको उचाइमा रहेको बस्ती हो ।
सदरमुकाम फुङलिङदेखि एकदिन सवारी साधन र बाँकी दुईदिन पैदल यात्रामार्फत् तीनदिनमा याङ्मा पुगिन्छ । जिल्लाकै उच्च तथा दुर्गम बस्ती याङ्माका बासिन्दा अहिलेसम्म कुनै पनि सञ्चारमाध्यमको पहुँच नहुँदा सुविधा उपभोग गर्नबाट बञ्चित छन् । सीमावर्ती फक्ताङ्लुङ गाउँपालिका वडा नं। ७ ओलाङ्चुङगोलाको याङ्मा अहिलेसम्म सञ्चारको पहुँच बाहिर रहेको जिल्लाकै उच्च हिमाली बस्ती हो । हिउँद मौसमभर हिउँले ढाक्ने वरिपरि हिमालले घेरेको याङ्मा खोलाको किनार खोँचमा रहेको याङ्मामा कहिलेदेखि बस्ती बस्न थालेको हो भन्ने थाहा नभएको बताउने स्थानीय ६५ वर्षीय ठावा शेर्पाले सञ्चारसुविधा नहुँदा सूचना आदानप्रदानमा समस्या रहँदै आएको बताउनुभयो ।
देशमा विकास र परिर्वतनले धेरै गति लिए पनि याङ्मा बस्ती अहिलेसम्म ओझेलमै रहेको शेर्पाले गुनासो गर्नुभयो । याङमाकै अर्का स्थानीय छाम्जे शेर्पाले पनि सञ्चार सुविधा नहुँदा धेरै समस्या रहेको बताउनुभयो । भारतको दार्जिलिङलगायतका सहरमा अध्ययन गर्ने आफ्ना छोराछोरी र अन्य आफन्तसँग सम्पर्क नहुँदा सधैं मनमा पीडा हुने गरेको शेर्पाको भनाइ छ । सञ्चार पहुँच नभएकै कारण मरिमराउ र कुनै संवेदनशील अवस्थाको खबर समयमा नपाउँदा समस्यामाथि समस्या हुने गरेको याङ्माका बासिन्दा बताउँछन् ।
उनीहरुकाअनुसार कुनै जरूरी सञ्चार सम्पर्क गर्नुपरेमा एकदिन पैदल हिँडेर ओलाङ्चुङगोला पुग्नुपर्दछ । ओलाङ्चुङगोलामा भने करिब एकवर्ष अघि नेपाल टेलिकमले मोबाइलको टावर विस्तार गरेपछि सञ्चार सम्पर्कका लागि सहज भएको छ । मोबाइल टावर राख्नुअघि ओलाङ्चुङगोलामा पनि सञ्चारको समस्या उस्तै थियो । बर्खा मौसममा भने याङ्मा–ओलाङ्चुङगोला आवतजावत गर्ने अवस्था पनि नरहेको याङ्मावासी बताउँछन् । याङ्मा खोलामा हिउँदमा काठेपुल लगाएर आउजाउ गर्ने गरिन्छ भने बर्खामा पुल बगाउने हुँदा ओलाङ्चुङगोलासँग सम्पर्क टुट्ने याङ्माका स्थानीय सोनाम शेर्पाले बताउनुभयो ।
शेर्पाकाअनुसार याङ्मा गाउँदेखि एकडेढ घण्टा टाढा डाँडा–डाँडामा नेटवर्क खोज्दै जाँदा कुनैबेला स्काई मोबाइलमा सम्पर्क हुने गरेको छ । कुनै–कुनै बेला स्काइमा सम्पर्क भइहाले पनि कुराकानी भने सहजले गर्न नपाइने उहाँले बताउनुभयो । दुर्गम तथा दूर दराजमा थोरै परिवार र जनसङ्ख्याको बस्ती भएकाले याङ्मामा सञ्चारको पहुँच पुर्याउने तत्काललाई कुनै योजना नभएको गाउँपालिकाले जनाएको छ । ओलाङ्चुङगोलावासीसमेत रहेका फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेन शेर्पाले याङ्मासम्म सञ्चार पहुँच विस्तार गर्ने कुनै योजना नरहेको बताउनुभयो ।
केही वर्षअघिसम्म विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहयोगमा सञ्चालित स्याटेलाइटमार्फत एस्टीएम प्रविधिको टेलिफोन सेवा बिग्रिएपछि हाल याङ्मा सञ्चार पहुँचबाहिर रहेका प्रवक्ता शेर्पाले बताउनुभयो । शेर्पाकाअनुसार याङ्मासम्म कुनै सञ्चार सूचना आदानप्रदान गर्नुपरेमा मानिस नै जानुपर्ने र चिठीपत्र पठाउनुपर्ने अवस्था छ । याङ्मा गाउँसम्म केही सूचना पुर्याउनु परेमा मान्छे नै गएर सूचना दिने गरेको वा चिठी पठाउने गरेको स्थानीय टासी फिन्जो शेर्पाले बताउनुभयो । कुनैपनि सञ्चारमाध्यमको नेटवर्क नचल्ने हुँदा सञ्चार प्रवाहमा स्वयं मानिसको उपस्थिति र चिठीपत्रबाहेक अरु विकल्प नरहेको शेर्पाले बताउनुभयो ।
याङ्माका बासिन्दाको मुख्य व्यवसाय भनेको विगतदेखि नै याकपालन हो । प्रायः याक गोठमा समय बिताउने याङ्मावासीले गोठमा रहँदा पनि सूचना आदानप्रदान गर्न डाँडामा निस्केर ठूलो आवाजमा कराउनु र सुसेलीको माध्यम रहेको छ । ठूलो आवाजमा कराएको र सुसेलीको आवाज सुनेपछि एउटा गोठदेखि अर्को गोठसम्म आवश्यक सूचना आदानप्रदान हुने गरेको स्थानीय याक गोठाला कान्देग्याबु शेर्पाले बताउनुभयो ।
यसरी स्थानीय शैलीको खबर आदानप्रदानले हालसम्म सञ्चार चलेको भए पनि अहिलेको सूचना र प्रविधिको समयमा पुरै गाउँबस्ती सञ्चारबिहीन अवस्थामा रहनु अन्धकारको संसारमा रहनुसरह भएको कम्प्युटर एशोशिएसन महासङ्घ नेपाल (क्यान) ताप्लेजुङका अध्यक्ष विष्णुकुमार लिम्बुको भनाइ छ । हालको तीनै तहको सरकार तथा नेपाल टेलिकमले याङ्माका बासिन्दालाई सञ्चार सुविधा पुर्याउनका लागि आवश्यक पहल गर्नुपर्ने लिम्बुको सुझाव छ । हिमाली बस्ती याङ्मामा हाल १० परिवार बस्दै आएका छन् भने यहाँको जनसङ्ख्या करिब ४० जना रहेको बताइएको छ । न्युज कारखाना






















प्रतिक्रिया दिनुहोस्