जनता टाइम्स

१८ भाद्र २०७८, शुक्रबार १३:२८

देउवा–प्रचण्ड खटपट, गठबन्धनमा संकट


काठमाडौं, १८ भदौ । सत्ता गठबन्धनका दलहरुभित्र खटपट सुरु भएको छ । उहाँहरुबीच विदेशीलाई हेर्ने दृष्टिकोण र विदेशसम्बन्धलाई असर पार्ने खालका पछिल्ला कदमहरुका कारण खटपट सुरु भएको हो । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अगाडि बढाउन सक्रियता देखाउनुभएको छ । एमसीसीका अधिकारी नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । एमसीसी पारित गर्न सहमतिका लागि देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकटता बढाएर छलफल समेत गर्नुभएको छ । देउवाको यो भूमिकाबाट सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झस्किनुभएको छ ।

सत्ता गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विना संशोधन एमसीसी पारित गर्न नहुने अभिव्यक्ति दिनुभएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव यसबारे मौन हुनुहुन्छ । देउवाले विदेश सम्बन्धमा असर पर्ने गरी अर्को कदम चाल्नुभएको छ । उत्तरी छिमेकी चीनले चार जिल्लामा मिचेको भनिएको भूमिबारे अध्ययन गर्न नेपाल चीन सीमा विवादबारे अध्ययन समिति नै गठन गर्नुभएको छ। समिति गठन गरेपछि चीनले सीमा मिचेको छैन भन्ने केपी शर्मा ओली नेतृत्वको सरकारको निष्कर्षलाई चुनौती बनेको छ । यसले एमाले अप्ठ्यारोमा परेको छ ।

देउवा निकट काँग्रेस नेता जीवनबहादुर शाहीले चुनौतीका साथ चीनले सीमा मिचेको बताउँदै आउनुभएको छ । शाहीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रतर्फ संकेत गर्दै चीनको डरले सीमा मिचेको भन्न नसकेको आरोप लगाउनुभएको छ । उहाँले संचाकर्मीसंगको कुराकानीमा उहाँले भन्नुभयो , ‘चीनले सीमा मिचेको छैन भन्ने नेतालाई मेरै खर्चमा हेलिकोप्टरमा राखेर मिचेको भूमि देखाइदिन्छु ।’ यसरी काँग्रेस सीमाबारे आक्रामक बनेको छ ।

देउवा नेतृत्वको सरकारमा माओवादी पनि हुनु र चीनसँगको सीमाको विषय जोडतोडले उठ्नुले प्रचण्ड असन्तुष्ट बन्नुभएको छ । उहाँले देउवासँग यसबारे असन्तुष्टि पोखिसकेको बुझिएको छ । यसले देउवा र प्रचण्डबीच खटपट सुरु भइसकेको छ । देउवा सरकारले चीनले चार जिल्लामा मिचेका भूमिको खोजबिन सुरु गर्नुलाई अर्थपूर्ण मानिएको छ । हुम्ला, रसुवा, सिन्धुपाल्चोक र संखुवासभा गरी ४ जिल्लाका ११ वटा स्थानमा चीनले भूमि मिचेको विगतमा कृषि मन्त्रालयको रिपोर्टमा उल्लेख छ । विशेषगरी नदी क्षेत्रमा भूमि मिचिएको उल्लेख छ । चीनले सीमा मिचेर हुम्लामा भवनहरु नै बनाएको छ । तर, उक्त भूमि आफ्नो दाबी गरेको छ ।