जनता टाइम्स

१९ भाद्र २०७८, शनिबार २२:३२

कुर्सीको लोभले पार्टीभित्रैकाले सरकार ढाले : शंकर पोखरेल


दाङ, १९ भदौ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्ररेलले नेकपा एमाले भित्रका केही नेतालाई कुर्सीको लोभले सरकार ढालेको बताउनुभयो । उहाँले पार्टी भित्रैबाट नेताहरू कुर्सीको लोभमा पर्दा एमाले विभाजनको अवस्थासम्म पुगेको बताउनुभयो । पार्टी बनायौं भन्नेहरूकै असहयोगले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको आरोप लगाए । ‘पार्टी फुटाएर उहाँहरूले कांग्रेस नेतृत्वको सरकारलाई सहयोग गरिराख्नु भएको छ।

सरकारले पनि एमाले र जसपा फुटाउनकै लागि अध्यादेश ल्यायो। तर, यो अध्यादेश लामो समयसम्म टिक्दैन। र, टिक्यो भने पनि स्वयं कांग्रेस र माओवादी केन्द्रलाई समेत हानी गर्छ’, उहाँले भन्नुभयो । राजनीतिक स्वार्थ र एमाले टुक्राउन गरिएको षडयन्त धेरै लामो समय नटिक्ने नेता पोखरेलको दाबी छ । जनता र संसदबाट प्रधानमन्त्री बन्ने प्रावधान विपरित परमादेशबाट बनेको सरकारले जनताको हितमा कुनै काम नगर्ने ठोकुवा समेत गर्नुभयो ।

ओलीले ताजा जनादेशका लागि गरेका प्रयासहरू राम्रा भए पनि परमादेश बाधक बनेको उहाँले बताउनुभयो । देउवा सरकारले एमाले फुटाएर आफूले राज गर्न खोजेको उहाँको आरोप छ । ‘एमाले मात्रै फुट्दैन । दल सम्बन्धी अध्यादेशले निकट भविश्यमा कांग्रेस र माओवादीलाई पनि असर गर्ने छ’, उहाँले भन्नुभयो ।