जनता टाइम्स

४ असार २०७६, बुधबार १४:०५

बागलुङमा व्यावसायिक खरायोपालन


बाग्लुङ्ग, असार ४

बाग्लुङ्ग नगरपालिका–३ गौडाकोटका नारायण शर्माले व्यावसायिकरुपमा खरायोपालन शुरु गर्नुभएको छ । शर्माले चार महीनाअगाडि घरमा पाल्न दुई वटा खरायो जैमिनी नगरपालिकाको राङ्खानीबाट ल्याउनुभएका हो । “दुई वटाबाट शुरु गरेको खरायोपालन अहिले २५ वटा पुर्याएको छु”, शर्माले भन्नुभयो ।

व्यावसायिक रुपमा खरायो पाल्नका लागि आठ लाखको लागतमा खोर निर्माण गरेको बताउँदै शर्माले खरायोको सङ्ख्यामा वृद्धि गर्ने योजना रहेको सुनाउनुभयो । “हालसम्म तीन जोर खरायो बेचे”, शर्माले भन्नुभयो, “एक सय पुर्याएर मात्र अब बेच्ने योजना छ ।” खरायो शाकाहारी भएकाले घाँस मात्र खुवाउँदा धेरै खर्च लाग्दैन ।

हाल खरायोलाई मासुका रुपमा प्रयोग गर्ने प्रचलन बढेको छ । सेतो मासु भएका कारण रातो मासु नखानेका लागि उपयुक्त हुन्छ । एक जोर खरायोलाई रु एक हजार पर्छ । “एक सय पुर्याएपछि मासुका लागि बिक्री–वितरण गर्ने योजनामा छु”, शर्माले भन्नुभयो । अहिले ठूला होटल तथा रिसोर्टमा खरायोको मासुको माग रहेको थाहा पाएकोले खरायोपालनलाई व्यावसायिक रुप दिएको शर्माले बताउनुभयो ।

करीब पाँच–६ महीनाको उमेर पुगेपछि पोथी खरायो वयस्क हुन्छ । गर्भ रहेको २८ देखि ३२ दिनमा नै खरायोले चारदेखि १२ वटासम्म बच्चा जन्माउने गर्छ । फेरी त्यसको १२-१५ दिनमा नै पुनः गर्भधारण गर्दछ ।

त्यसैले पनि भालेको भन्दा पोथीको मूल्य बढी पर्छ । खरायो जन्मेको तीन महीनामा नै मासुका लागि योग्य हुन्छ । खरायो पाल्नका लागि त्यति धेरै जग्गा नचाहिने घरको कुनै एक छेउ, कौसीमा पनि गर्न सक्ने भएकाले यो व्यवसायमा हात हालेको उहाँको भनाइ थियो ।