लण्डन, भदौ २१ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको आर्थिक तथा बौद्धिक लगानी नेपाल भित्र्याउने र गैरआवासीयलाई नेपालीलाई नागरिकता दिने विषय कार्यान्वयनका लागि आफूले अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेको बताउनुभएको छ ।
केसिले एनआरएनएको दशौं महाधिवेशनको अवसरमा ‘राष्ट्रको लागि अन्तर्राष्ट्रिय युवा बहस’ कार्यक्रममा बोल्दै एनआरएनएका मुद्दाहरु कार्यान्वयमा ल्याउनका लागि पनि नेतृत्वमा आफ्नो विकल्प नभएको दाबी गर्नुभयो । ‘१० अर्बको संयुक्त लगानी कोषलाई मूर्तरुप दिन र विदेशमा रहेका नेपालीको बौद्धिक लगानी नेपालमा पुर्याउनका लागि म प्रतिवद्ध छु,’ डा. केसीले भन्नुभयो , ‘त्यसैका लागि पनि मैले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेको हुँ।’ विदेशमा बस्ने नेपालीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गराउनका लागि आफूले पहल गर्ने केसीको भनाइ।
एनआरएनएमा स्थानपनाकालदेखि नै आवद्ध केसी सन् २००७ मा एनआरएनए रुसको महासचिवमा निर्विरोध निर्वाचित हुनुभएको थियो । त्यसपछि उनी २००९ र २०११ मा केन्द्रीय सदस्य भएका थिए भने सन् २०१३ मा कोषाध्यक्ष भए। २०१४ मा जापानको टोकियोमा भएको सम्मलेनमा एनआरएनएको आर्थिक व्यवस्थापनका लागि डा। केसीले दशवर्षे योजना ल्याउनु भएको थियो । सन् २०१५ मा महासचिव बनेका केसीको सक्रियता र पहलमा ३० वटा देशमा संगठन विस्तार भएको थियो।
२०१९ सम्म दुई कार्यकाल महासचिव बनेका केसी त्यसयता उपाध्यक्षका रुपमा निकै सक्रिय हुनुहुन्छ। कोरोना महामारीविरुद्ध लड्न राहत सामग्री पठाउने तथा वितरण गर्ने कार्यका लागि सक्रिय केसीको राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषदबीचको सम्बन्ध सुदृढ पार्ने भूमिका पनि उल्लेखनीय छ।
वैदेशिक रोजगारीका लागि मलेसिया र मध्यपूर्वमा गएर अलपत्र परेका नेपालीहरुको उद्धार र राहतका क्षेत्रमा समेत केसीको उत्तिकै सक्रियता रही आएको छ। केसीको पहल र समन्वयमा एनआरएनएमार्फत् हालसम्म २५ हजारभन्दा बढी पीडितले राहत प्राप्त गरिसकेका छन्।
लामो समयसम्म एनआरएनएका विभिन्न भूमिकामा निकै सक्रिय र सफल भएका कारण अध्यक्ष पदका लागि केसीको उम्मेद्वारी निकै सशक्त देखिएको छ।
नेपालीहरुको बाक्लो उपस्थिति रहेका ८४ वटा देशमा हाल एनआरएनएको संगठन छ। तीमध्ये ६४ वटा देशमा राष्ट्रिय समन्वय परिषद्को चुनाव सफलतापूर्वक सम्पन्न भइसकेको केसीले बताउनुभयो । उहाँका अनुसार ती देशबाट ३४ सयभन्दा बढी डेलिगेट्सहरु चयन भइसकेका छन्। एनआरएनएको नयाँ केन्द्रीय कार्य समिति चयन गर्न अक्टोबर दोस्रो साता निर्वाचन हुँदैछ।
प्रतिक्रिया दिनुहोस्