जनता टाइम्स

२२ भदौ २०७८, मंगलबार २१:१४

सुनसरीमा नेकपा एमाले बलियो, २९९ जनप्रतिनिधिमध्ये २९३ एमालेमा


सुनसरी, २२ भदौ । सुनसरीमा नेकपा एमालेबाट निर्वाचित २९९ जना जनप्रतिनिधिमध्ये २९३ जनाले नै नेकपा एमाले रोजेका छन् । त्यस्तै ६ जनाले भने नेकपा एकीकृत समाजवादी रोजेका छन् । उनीहरूले आज जिल्ला निर्वाचन कार्यालय सुनसरीमा पुगेर सनाखत गरेको जनाइएको छ । नेकपा (एस)मा सनाखत गर्नेमा इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्य गौरीमान परियार र वडा–२ का सदस्य सन्तोष राई, धरान उपमहानगरपालिका कार्यपालिका सदस्य कैलास अग्रवाल छन् ।

यस्तै, बराहक्षेत्र नगरपालिका–७ का वडा सदस्यहरू पर्शुराम आचार्य र सुष्मा परियार, इनरुवा नगरपालिका–६ का वडा सदस्य राजेश दाहालले पनि नेकपा (एस) रोज्नुभएको छ । दाहाल हाल प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको वडाका वडा सदस्य तथा छिमेकी हुन् । दल रोज्ने समय आज सकिएसँगै नेकपा एमाले नै सुनसरीमा बलियो देखिएको छ ।