जनता टाइम्स

२६ भाद्र २०७८, शनिबार १२:५२

एकै परिवारका ६ जनाको हत्या गरेको स्वीकारेका आरोपिले के दिए वयान ?


काठमाडौं, २६ भदौ । हत्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् । २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् ।

‘मृतक र आरोपी १३ दिनभित्रका काका–भतिजा हुन्’ प्रदेश–१ प्रहरी कार्यालयका एक उच्च अधिकृतले भन्नुभयो– ‘तर, आवेगमा लोकबहादुर एक्लैले तेजबहादुरसहित ६ जनाको ज्यान लिएको अनुसन्धानबाट खुल्न आएको छ ।’ यद्यपि प्रहरीले आवेशमा आएर हत्या गरिएको भने पनि यो घटना आवेश प्रेरित हत्या हो कि मनासाय प्रेरित हत्या हो भन्ने खुलेको छैन ।

भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

शव फरक–फरक चार स्थानमा फेला परेको थियो । संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले हत्या अनुसन्धान गर्नुभएको थियो । हत्या गरिएका तेजबहादुरले ‘हेपेका कारण’ आफुले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । तेजबहादुरका दुई छोरा विदेशमा छन् ।

तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको फरकमा छ । सोमबार विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अचानक आक्रमण गरेर हत्या गरेका थिए । तेजबहादुरलाई हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गएका थिए । घरनजिकै रहेको खोला छेउमा दुवैलाई उनले ह्यामरले हिर्काएर हत्या गरे ।आमा र हजुरआमालाई हत्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई लखेटेर बारीमा हत्या गरेका थिए ।

त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताउछन् । मृतक सवैको टाउकोमा चोट लागेको छ ।

तेजबहादुरलाई हत्या गर्नुपछाडि पनि बलियो कारण प्रहरीले खुलाउन सकेको छैन । तर लोकबहादुरको घरमा रगत लतपतिएको कपडा र हत्यामा प्रयोग भएको हतियार बरामद भएको प्रहरी बताउँछ ।

पक्राउ परेपछि लोकबहादुरले दिएको बयानअनुसार मृतक तेजबहादुर उनलाई हेप्ने गर्थे, नमिठो बोल्थे । एक वर्षअघि उनकै घरमा लोकबहादुरकी आमा लडेकी थिइन् । गम्भीर घाइते भएकी आमालाई उपचारका लागि झापाको एक अस्पताल लगिएको थियो । उपचारका क्रममा मृत्यु भयो ।‘आमाको मृत्यु पछाडि तेजबहादुरकै षडयन्त्र भएको लोकबहादुरको बुझाइ रहेछ’ एक अनुसन्धान अधिकृतले भन्नुभयो ‘त्यही रिसले हत्या गरेछन् ।’ उनी मानिसक रोगीसमेत भएको प्रहरी बताउँछ । स्रोत भन्छ, ‘एक वर्ष अघिदेखि औषधि खाइरहेको भेटिएको दावी गर्छ ।’