जनता टाइम्स

२६ भाद्र २०७८, शनिबार १४:४१

अमेरिका उच्च अध्ययन गर्न गएकी नेपाली चेली नौसेनाकी कमान्डर पदमा बढुवा


काठमाडौं, २६ भदौ । उच्च अध्ययन गर्न अमेरिका जानुभएकी काठमाडौँ महाराजगंजकी नेपाली चेली जतन केसी बास्तोला नौसेनाकी कमान्डर पदमा बढुवा हुनुभएको छ । अमेरिकामा आई जलसेनाको उक्त पदमा पुग्ने नेपाली छोरी केसी बास्तोला सम्भवत पहिलो नेपाली हुनुहुन्छ । अहिले सम्म कै जानकारी र सोध खोज अनुसार बास्तोला अमेरिकी सेना तथा नौसेना मै कमान्डर पद अर्थात् उक्त दर्जामा पुग्ने पहिलो नेपाली हुने अवसर पाउनुभएको हो। त्यसमा पनि नेपाली महिला । उहाँको पदोन्नति गत सेप्टेम्बर १ ,२०२१ देखि भएको हो ।

उहाँलाई कमान्डर बोर्ड (समिति)ले छनौट गरे पछि बढुवा भएको उहाँले बताउनुयभो । सन् १९९५ मा अमेरिका उच्च अध्ययनको लागी अमेरिका पुग्नुभएकी बास्तोला सुरुमा हवाई त्यसपछि हवाईबाट भर्जिनिया राज्यमा पुग्नुभएको थियो । उहा जलसेनामा भएकोले उहाँको काम समुन्द्रमा पर्दछ भने त्यसमा पनि ठूला ठूला पानी जहाजमा जानु पर्ने हुन्छ । अहिले सम्म उहाँले ३ वटा जहाजहरुमा काम गरि सक्नुभएको छ भने तिनीहरुमा युएसएस चेफी,युएसएस हेरी एस ट्रुम्यान रहेका छन् ।

हाल उनि युएसएस वास्पमा सहायक आपूर्ति अधिकारीको रुपमा कार्यरत हुनुहुन्छ । उहाँको अन्य मुख्य काम भनेको वित्तीय तथा लजिस्टिक (संभारिकी) आपूर्ति गर्नु लगायत पर्दछ । उहाँ सन् २००६ देखि नौसेनामा भर्ना हुनुभएको थियो । सन् २००४ मा अमेरिकी नागरिकता पाउनुभएकी बास्तोलाले सन् २०१५ मा कबुलियत व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले नौसेना र समुद्रीसेनामा राम्रो कार्य गरे वापत उहाँको योगदानको कदर गर्दै विभिन्न प्रशंसा पुरस्कार लगायत अन्य धेरै व्यक्तिगत पुरस्कारहरू प्राप्त गर्नुभएको छ । उहा हाल सेसापिक भर्जिनियामा श्रीमान र आमासंग बस्दै आउनुभएको छ ।