वास्तविक रूपमा नेपाली काङ्ग्रेसको पुच्छर बनेको ‘महान अग्रगमनकारी’ माओवादी आफ्नो गुरिल्ला कार्यनीति जनताको सार्वभौम अधिकार प्रयोग हुने थलो संसद्मा प्रयोग गरिरहेको छ । व्यक्ति हत्याको मुद्धा खेपिरहेका सभामुख अग्निप्रसाद सापकोटा एमाले विभाजन गराउन नाङ्गै उत्रिएनन्, संसद्को अस्मितामाथि निरन्तर बुर्कुसी मारिरहेका छन् । माओवादीका अर्थमन्त्री जनार्दन विहानदेखि बेलुकासम्म एमालेले ल्याएका लोकप्रिय र जनमुखी कार्यक्रममा कैंची चलाउन अर्थ मन्त्रालयमा व्यस्त छन् । एमाले सरकारले शुरू गरेका सयौं विकास आयोजना कटौति गरेर त्यो रकम आफ्ना कार्यकर्ता पोस्ने ‘महान अग्रगामी छलाङ’ मार्दैछन्
निर्मल भट्टराई
एमालेको लोकप्रिय सरकारलाई संसारमा कहीं नभएको परमादेशबाट सत्तामा पुगेको ककटेल गठबन्धन सरकारले पूर्णता नपाउँदै सङ्कटमा पर्न थालेको अनुभूत सर्वत्र हुन थालेको छ । हुन पनि यो गठबन्धनको हालत ‘जेठी माग्छे पानी, कान्छी माग्छे घाम, म अभागी बुढो कतातिर जाम’ भने जस्तै भएको छ ।
देशकै प्रमुख राजनीतिक शक्ति एमालेको चुँलिदो लोकप्रियतालाई चुनौति दिने एकमात्र उदेश्य राखेर खडा भएको यो ककटेल (भारतको लागि कम्फर्टेवल) गठबन्धनमा असाध्यै विजातीय शक्तिहरू विराजमान छन् । टाउकोको मूल्य तोक्ने र तोकिने एकै ठाउँमा छन् । जातीय सङ्घीयताका कट्टर हिमायती र सङ्घीयताका कट्टर विरोधी एकै ठाउँमा कुम जोडेर बसेका छन् । कम्युनिष्टको ‘क’ सुन्न नचाहने र माओवादको भजन गाएर नथाक्नेहरूको सत्ता समागम भएको छ । एमसीसीको समर्थन नगरी निन्द्रा नलाग्ने र एमसीसी सुन्नै नचाहनेको अङ्गालो हालाहाल छ । ‘शुद्ध’ कम्युनिष्ट र विटुलिएका कम्युनिष्टहरूमा काङ्ग्रेसको बफादार हुन तँछाडमछाड चलेको छ ।
एमालेबाट चोइटिएका केहीलाई दक्षिणपन्थसँग पोइल जान हुटहुटी छ । दक्षिणपन्थको बेड पार्टनर बनेर हाइब्रिड बच्चा कोरल्न विहानै बेलुकै बालुवाटारतिर असिन पसिन दौडधूप छ । माथि फुकेको तल सुकेको माधव नेपालको पार्टीको २० प्रतिशतको हनिमून सकिएको छैन । उसको सत्ता हनुमून नसकिंदै पार्टी नै सकिने ‘उत्साही’ परिस्थिति छ । उता जसपालाई २० प्रतिशतको काउछोले लखेटेको लखेट्यै छ । कुनैबेला जसपाबाट मसपा वा नशपा जन्मने गर्भाधान भएको चर्चा चुलिएको छ ।
वास्तविक रूपमा नेपाली काङ्ग्रेसको पुच्छर बनेको ‘महान अग्रगमनकारी’ माओवादी आफ्नो गुरिल्ला कार्यनीति जनताको सार्वभौम अधिकार प्रयोग हुने थलो संसद्मा प्रयोग गरिरहेको छ । व्यक्ति हत्याको मुद्धा खेपिरहेका सभामुख अग्निप्रसाद सापकोटा एमाले विभाजन गराउन नाङ्गै उत्रिएनन्, संसद्को अस्मितामाथि निरन्तर बुर्कुसी मारिरहेका छन् । माओवादीका अर्थमन्त्री जनार्दन विहानदेखि बेलुकासम्म एमालेले ल्याएका लोकप्रिय र जनमुखी कार्यक्रममा कैंची चलाउन अर्थ मन्त्रालयमा व्यस्त छन् । एमाले सरकारले शुरू गरेका सयौं विकास आयोजना कटौति गरेर त्यो रकम आफ्ना कार्यकर्ता पोस्ने ‘महान अग्रगामी छलाङ’ मार्दैछन् ।
नेपाली काङ्ग्रेसले उसको विगतदेखिको बाँदरनीति कायम राखेको छ । एउटा रोटीमाथि दुई बिरालाको झगडामा दुवैलाई झुक्याएर सबै रोटी बाँदर आफैले खाएको पन्चतन्त्रको कथाझैं आफ्नै गठबन्धनका सहयात्रीलाई समेत आपसमा लडाएर फाइदा लिने उसको काइदा हेर्न लायक छ । परमादेशको चिठ्ठा परेको काङ्ग्रेस प्रचण्ड, माधव नेपाल, उपेन्द्रलाई रिङ्ग्याएर र एमालेलाई पेलेर आगामी निर्वाचनमा केही बढी सीट जित्ने ध्याउन्नमा लागेको नेपाली काङ्ग्रेस वर्तमान सरकारमा आफ्नो एकलौटी प्रभुत्व बनाइ राख्न चाहन्छ ।
गडबड गठबन्धनको घाँटीमा यही मौकामा एमसीसीको घाँडो झुण्डिएको छ । प्रमुख प्रतिपक्षी एमालले एमसीसीबारे आफ्नो प्रष्ट धारणा सार्वजनिक गरिसकेको सन्दर्भमा हप्तौंदेखि गठबन्धनलाई एमसीसीबारेको दृष्टिकोण कब्जियत भएको छ । एमसीसीका उच्च अधिकारी नेपाल आएर ‘कि खाऊ कि फर्काऊ’ भनेर दबाव दिएका छन् । वास्तवमा एमसीसी गठबन्धनको किलकिलेमा गएर बसेको छ । अमेरिकाको कोच्याउने काइदा र सत्ता गठबन्धनको लाचार रवैया दुवै निन्दनीय छन । उत्तरी छिमेकी चीनलाई चिड्याएर अमेरिका र भारतको भक्ति गर्ने नेपाली काङ्ग्रेसको परम्परागत विदेश नीतिको छाताभित्र गठबन्धनमा सामेल ‘राष्ट्रवादी’, ‘क्रान्तिकारी’, ‘समाजवादी’ शक्तिको आशक्तिपूर्ण ओत लगाइ भने उदेक लाग्दो छ ।
अग्रगमनका पक्षधर नेपाली जनताको अभिमतबाट सत्तामा पुगेको नेकपा (एमाले) देशीविदेशी षडयन्त्रबाट प्रमुख प्रतिपक्षी भूमिकामा पुगेको छ । एमालेमा माओवादी मिसिएदेखि नै पार्टी सङ्गठनमा देखिएको गतिहीनता र अन्यौल चिर्दै राष्ट्रव्यापी तन्दुरुस्तीको अभियानमा जुटेको छ । पार्टीको दशौं महाधिवेशनको मिति घोषणा गरिसकेको एमालेले विधान महाधिवेशनको तयारीमा जुटेको छ । यसको साथसाथै एमाले विभाजनको लागि सत्ता गठबन्धनका असंवैधानिक र गैरकानुनी हर्कतको विरुद्ध संसद्मा सशक्त प्रतिरोध गरिरहेको छ ।
अप्राकृतिक गठबन्धनले देशको सार्वभौमिकता, लोकतन्त्र र जनविरोधी क्रियाकलापको विरूद्ध एमाले सशक्त संसदीय र गैरसंसदीय संघर्षको तयारी गरिरहेको छ । जनतालाई संगठित र परिचालन गरेर हाल सत्तासीन जनविरोधी शक्तिलाई ठेगान लगाउन एमाले ले लोभलाग्दो तयारी शुरू गरेको छ । एमाले चाँडै आफ्नो लयमा फर्कनेवित्तिकै स्वभाविक रूपमा देश पनि सकारात्मक लयमा फर्किहाल्छ ।













प्रतिक्रिया दिनुहोस्