जनता टाइम्स

२७ भाद्र २०७८, आईतवार २२:३५

प्रदेश २ मा महन्थ ठाकुर नेतृत्वको लोसपा बन्यो प्रमुख प्रतिपक्षी दल


जनकपुर, भदौ २७ । निर्वाचन आयोगबाट दुई दल लोकतान्त्रिक समाजवादी (लोसपा) र नेकपा एकीकृत समाजवादीले दलको मान्यता पाएसँगै प्रदेश २ सभाको अंकगणित फेरिएको छ । जनता समाजवादी पार्टीबाट अलगिएपछि प्रदेश सभाका १६ जना सांसदले सनाखत गरेसँगै लोसपा प्रमुख प्रतिपक्षीको भूमिकामा देखिएको हो ।

प्रदेशसभामा लोसपा तेस्रो ठूलो दल बन्दै प्रमुख प्रतिपक्षी दल बनेको हो । सबैभन्दा ठूलो दल जसपाका ३८ सांसद छन् । दोस्रो ठूलो दल कांग्रेससँग १९ सांसद छन् । जसपा र कांग्रेस सत्ता साझेदार दल हुन । तेस्रो ठूलो दल लोसपासँग १६ र पाँचौ ठूलो दल नेकपा एमालेसँग ८ सांसद छन । लोसपा र एमाले भने प्रतिपक्षमा छन् । चौथो ठूलो दल नेकपा एकीकृत समाजवादी भने सरकारमा जाने तयारीमा छ । एकिकृत समाजवादीसँग १३ सांसद छन् । सत्तासाझेदार नेकपा माओवादी केन्द्रसँग ८ जना सांसद रहेका छन् ।

निर्वाचन आयोगले प्रदेश २ मा लोसपाको पक्षमा सनाखत गरेका १६ जनालाई आधिकारिकता दिएको छ । लोसपाको पक्षमा उपेन्द्र महतो, जानकीशरण साह, गौरीनारायण साह, परमेश्वर साह सुडी, सुरिताकुमारी साह, बबिताकुमारी, बाबुलाल साहकानु, निलमदेवी भूमिहारीन रहनुभएको छ । यसैगरी अभिरामशर्मा, रानीकुमारी तिवारी, जयनुल राइन, अलकाकुमारी झा, डिम्पल झा, जितेन्द्र कुमार सोनार र रमेशकुमार कुर्मीले लोसपामा सनाखत गर्नुभएको छ ।

उनीहरू १५ जना पूर्व राजपाका हुन । पूर्व समाजवादी पार्टीबाट एक जना प्रह्लाद गिरी गोस्वामीले लोसपाको पक्षमा सनाखत गर्नुभएको छ । लोसपाको पक्षमा सनाखत गर्ने सांसदहरूलाई निर्वाचन आयोगले मान्यता दिएको बताउँदै सांसद परमेश्वर साहले दलको विधान लेख्न, अनुमोदन गर्न र दलको नेता चयन हुन हप्ता दिन लाग्ने जानकारी दिनुभयो ।