जनता टाइम्स

२८ भाद्र २०७८, सोमबार १७:४१

उज्वेकिस्तान प्रस्थान गर्ने महिला टोलीको विदाई


काठमाडौं, २८ भदौ । एएफसी महिला एसिया कप छनोट–२०२२ छनोट खेल खेल्न उज्वेकिस्तान प्रस्थान गर्ने नेपाली टोलीको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज एक कार्यक्रमका बीच उज्वेकिस्तान प्रस्थान गर्ने ३३ सदस्यीय टोलीलाई विदाई गरेको हो । उज्वेकिस्तान प्रस्थान गर्नेमा २२ खेलाडी छन् भने ११ अफिसियल रहेका छन् ।

मुटुमा समस्या देखिएकी डिफेण्डर पुनम जर्घा मगर भने टोलीमा छैनन् । उज्वेकिस्तान जाने नेपाली टोलीलाई प्रतिनिधिसभा सांसद तथा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँगै अन्य पदाधिकारीले बिदाई गर्नुभयो । नेपाली टिम आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान पुग्ने कार्यक्रम छ ।

यसअघि नेपाल र बंगलादेशले एएफसी महिला एसिया कप २०२२ छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका थिए । पहिलो खेल नेपालले २–१ गोल अन्तरले जितेको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।उज्वेकिस्तानमा हुने समूह एफको खेलमा नेपालले फिलिपिन्ससँग २ असोज र हङकङसँग ५ असोजमा खेल्नेछ ।