जनता टाइम्स

५ असार २०७६, बिहीबार १३:५०

‘किसानलाई लुटेका मालिक सदनमा छन्, त्यसैले झुटको वकालत गरिरहेका छन्’


काठमाडौं,

सत्तारुढ नेकपाका सांसद गंगा चौधरी सामन्तवादी सोच र नेपाली कांग्रेसले किसानहरुको खुसी देख्न नसकेर गुठी विधेयकका मा भ्रम छरेको बताउनु भएको छ ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले भूमीहीन, जोताहा किसानले सरकारले ल्याएको गुठी विधेयकको स्वागत र समर्थन गरेपनि भ्रमपूर्ण आन्दोलनको कारण गुठी विधेयक फिर्ता भएको उल्लेख गर्नुभयो ।

‘गुठी विधेयक फिर्ताले गुठी पीडितको भावनामा ठूलो ठेस पुगेको छ’ उहाँले भन्नुभयो ‘गहभरि आँशु लिएर ठेला परेका हात, चिरा परेका गोडा लिएर भोकभोकै ठूलो खुला मैदानबाट लाखौं भूमीहीन, गुठी पीडीत किसानले भन्दै थिए, सरकार तिमीलाई धन्यवाद छ । हाम्रो निम्ति कम्युनिस्ट सरकार छ ।’

सांसद चौधरीले आफ्नो पुर्वजलाई कुन भुगोल कतिमा बेचिएको, कसले खरिद गरेको वा कुन कागजमा सही गरिएको भन्ने थाहा नभएको बताउनु भयो ।

उहाँले मालिकहरु अझै पनि धर्म र संस्कृतिलाई बिक्री केन्द्रमा राखेर आर्कषक विज्ञापन गरिरहेको बताउनु भयो ।उहाँले भन्नुभयो ‘इतिहासले केही पदचाप छोडेर गएको छ र डोकोभरि पैसा लुटेर भागेका महन्थहरु धनसहित कसैको चेलीबेटी भगाएर भूमाफियाहरुले किस्ता किस्तामा बिक्री गरेर मिलेमत्तोमा ढुकुटी लुटिरहेका छन् ।’

‘मालिकहरु सदनमा पनि छन्, विगतको लुट इतिहास नबाहिरियोस भनेर विधेयकको दफा दफामा झुटको वकालत गरिरहेका छन् ।’