जनता टाइम्स

२९ भाद्र २०७८, मंगलवार १९:४५

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या


दैलेख, २९ भदौ । दैलेखको गुराँस गाउँपालिका–८ का शिक्षक नगेन्द्र विसीको विभत्स हत्या भएको छ। प्रहरीका अनुसार स्थानीय मालिका माध्यामिक विद्यालयमा अध्यापन गराउने विसीको शव विद्यालयको बरण्डामा फेला परेको थियो। उहाँको सोमबार राति १० बजेपछि धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको अनुमान छ।

विसीको घर विद्यालयदेखि चार समय मिटर टाढा छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रजीत सुनारका अनुसार सोमबार विसी घरमा एक्लै बस्नुभएको थियो । विसीका छोराछोरी र बुवा बाँकेको नेपालगञ्जमा बस्नुहुन्छ। श्रीमती जग्गा पास गर्न दैलेख सदरमुकाम जानुभएको थियो। प्रहरीले घरदेखि चार सय मिटर टाढाको विद्यालयमा भएको हत्या घटनालाई गम्भीर रुपमा लिएको छ। ‘घटनास्थलमा बरामद गरिएका केही प्रमाणका आधारमा अनुसन्धान प्रक्रियालाई अघि बढाएका छौं,’ प्रहरी निरीक्षक सुनारले भन्नुभयो , ‘रातिको समयमा घरदेखि चार समय मिटरको दूरीमा रहेको विद्यालयमा हत्या हुनु गम्भीर विषय छ।’

प्रहरीले शंकास्पद पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेका सबै एकै घरका हुन्। प्रारम्भिक बयान पनि भइनसकेकाले हत्याका विषयमा अहिलेनै केही भन्न सकिने अवस्था नरहेको प्रहरीले बताएको छ।घटनास्थलबाट प्रहरीले मोवाइल र एक जोर चप्पल बरामद गरेको छ। मोवाइल मृतक विसीको हो। बरामद गरिएका दुई वटा चप्पलको राइज र रंग फरक छ।

‘हत्या भएको राति घरमा एक्लै हुनु, घरदेखि टाढाको विद्यालयमा हत्या हुनु र घटनास्थलमा फरक–फरक चप्पल भेटिनुले नजिकैका मानिसहरु हत्यामा संलग्न छन् भन्ने अनुमान लगाउन सकिन्छ,’ उहाँले भन्नुभयो , ‘शंकास्पद दुई जनालाई पक्राउ पनि गरेका छौं, अनुसन्धानपछि केही खुल्ला।’विसी १३ वर्षदेखि राहत शिक्षकका रुपमा विद्यालयमा कार्यरत हुनुहुन्थ्यो। हत्या भएको ठाउँदेखि ५० मिटरको दूरीमा खुद्रा पसल र होटल छन्। मंगलबार विहान दूध पुर्‍याउन आएकाहरुले विद्यालयमा शिक्षक विसीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए।