जनता टाइम्स

२९ भाद्र २०७८, मंगलवार २०:४५

एमाले राजनीतिक बाघ हो, स्यालहरुले नजिस्क्याउनु : महेश बस्नेत



अर्घाखाँची, २९ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आम नेपाली जनताको लागि राजनीतिक रुपमा एमाले बाघ पार्टी भएकाले अन्य बाघको छेउमा स्याल जस्ता पार्टींहरुले एमालेलाई नजिस्क्याउन चेतावनी दिनुभयो ।नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेता बस्नेतले परमादेशको सरकार तथा अपवित्र पाँच दलीय गठबन्धनले जनादेश प्राप्त एमालेसँग प्रतिपर्धा गर्ने सपना नदेख्न चेतावनी दिनुभयो ।

एमालेलाई बाघ सँग तुलना गर्दै अन्य कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी तथा जनमोर्चा राजनीतिक रुपमा बाघको छेउमा स्याल जस्तो मात्र भएको दावी गर्नुभयो ।उहाँले भन्नुभयो, ‘एमाले परमादेशबाट ठूलो पार्टी भएको हैन । जनताले दिएको जनादेशबाट देशको ठूलो पार्टी बनेको हो । जनादेशभन्दा ठूलो परमादेश हुन सक्दैन । छिर्के दाउबाट सरकार सञ्चालन गर्न पुगेका स–साना स्याल जस्ता पार्टीले एमाले जस्तो अपार जनताको साथ र समर्थन भएको जनमत प्राप्त बाघ जस्तो पार्टीलाई नजिस्क्याउनुस् । एमाले ज्युँदो बाघ हो । स्याल र ब्वाँसोहरुलाई एक धाप्को हान्यो भने परमधाम भइहाल्छ । त्यसकारण बाघलाई नजिस्क्याउ । बाघे झ्यापु हान्यो भने स्याल र ब्वाँसोहरु सिद्धिने छ । एमालेले एक पटक राजनीतिक रुपमा बाघे झप्पु दियो भने लुथ्रुक्क हुनुहुनेछ । बाघ सुतेको छ घनेर जुँगा तान्ने काम नगर्नुस् । यो तपाईहरुको लागि घातक हुन्छ । एमालेले राजनीतिक बाघे झप्पु हान्यो भने यो धर्तीमा हैन, परमधामको यात्रा तय हुनेछ ।’

उहाँले विभाजनको असर कम गर्न देशव्यापी कार्यक्रमको अभियान चलाएको उल्लेख गर्दै उहाँले एमालेलाई अन्य पार्टीका समर्थकलाई एमालेमा प्रवेश गराई अझ ठूलो, परिस्कृत तथा नयाा ठंगबाट मुलुकभर एमालेमय बनाउने उद्घोष गर्नुभयो ।

सभामुख अग्नी सापकोटाले प्रतिनिधिसभाको सभामुख हुनुपर्नेमा देउवा, प्रचण्ड तथा माधवेको मुख मात्र भएको उल्लेख गर्दै नेता बस्नेतले सभामुख सापकोटाले संविधानलाई मिच्दै पक्षपाती व्यवहार गरेको बताउनुभयो । सरिता गिरी, टोपबहादुर रायमाझी, प्रभु शाहलगायतका नेताहरुलाई २४ घण्टा नवित्दै कारवाहीको सूचना निकाल्ने सभामुखले एमालेले १४ जनालाई कारवाहीको सूचना गर्दा समेत सूचना जारी नगर्नु संविधानभन्दा माथि आफु भएको जस्तो व्यवहार गरेको भन्दै आक्रोस जनाउनुभयो ।