जनता टाइम्स

३१ भाद्र २०७८, बिहीबार १६:०७

माधवबारे ओलीको टिप्पणी : घरमा आगो लगाए, निधारमा खरानी घसेर तिर्थयात्रामा निस्किए


काठमाडौं, भदौ ३१ । एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा निस्किएको टिप्पणी गर्नुभएको छ । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका छन् ।’

देश, जनता र लाखौँ कार्यकर्ताको भविष्यमाथि माधव नेपालले खेलवाड गरेको ओलीले बताउनु भयो । ‘माधव नेपालले १५ वर्ष पार्टी चलाए, प्रधानमन्त्री बने, अब त जानुपर्ने त कहीँ छैन’, उहाँले भन्नुभयो, ‘तर, आफ्नो इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्न मिल्छ ?’ माधव नेपालले झुक्याएको र झुक्किएका कार्यकर्ताहरूलाई एमालेमा फर्कन आह्वान गर्दै ओलीले प्रचण्डसँग गएका कार्यकर्तालाई पनि फर्कन आग्रह गर्नुभयो ।

‘तपाईहरू पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कार्यकर्ता हो, माओवादी केन्द्रको नाममा रहेका साथीहरूलाई एमालेमा फर्कन म आह्वान गर्छु’, ओलीले भन्नुभयो । कम्युनिस्को सरकार ढालेर कांग्रेसको नेतृत्वको सरकार बनाएकोप्रति आक्रोश पोख्दै ओलीले भन्नुभयो, ‘मैले केही मन्त्री दिएको थिएँ नि, अहिले हेर्नु त देउवाले प्रचण्ड र माधव नेपाल खोइ मन्त्री दिएको ? प्रचण्डको पछि लागेर के हुन्छ । आउनुस् एकीकृत एमालेमा ।’