जनता टाइम्स

१ आश्विन २०७८, शुक्रबार १२:५३

नागरिकता लिन ८० बर्षीया बृद्धाको पीडादायी यात्रा


संखुवासभा, असोज १ । संखुवासभाको मकालु गाउँपालिका–२ की कान्छीमा शेर्पाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र पाउनु भएको छ । राम्रोसँग आँखा नदेख्ने कान्छीमायाले मकालु गाउँपालिका–२ को कार्यालयबाट सबै काजगपत्र लिएर सदरमुकाम खाँदबारीस्थित जिल्ला प्रशासन कार्यालय आएको सातौं दिनमा नेपाली नागरिक प्राप्त गर्नुभएको हो ।

नेपाली भाषा राम्रोसँग बोल्न नसक्ने, श्रीमान र छोरी गुमाउनु भएकी कान्छीमालाई सरकारी सेवा सुविधाको बारेमा केही थाहा छैन । उहाँका झड्केलो छोरा नुर्वु शेर्पाले वडा कार्यालय पुगेर कागजपत्र तयार गरेर खाँदबारी आउनु भएको थियो । कागज पत्र तयार गरेपछि नुर्वुले आमालाई लिएर जिल्ला प्रशासन कार्यालय खाँदबारी आउनुभयो । नेपाली नागरिकले नैसर्गिक अधिकारको रुपमा पाउने नागरिकताको प्रमाणपत्र नहुँदा अनेक दुःख कष्ट भोगेकी कान्छीमाले लामो संघर्षपछि नागरिकता प्राप्त गर्न सफल हुनुभयो । नागरिकता पाएपछि राज्यको तर्फबाट बुढेसकालमा पाउने सामाजिक सुरक्षाभत्ता लगायत सेवा सुविधाबाट बन्चित हुनुपर्ने बाध्यता हटेको छ । कोही नभएका उहाँको नागरिकता बुढेसकालको सहारा बनेको छ ।

दुर्गम टासी गाउँमा भीर पहारा चहारेर दिनाचार्य बिताई रहनुभएकी शेर्पालाई गाउँका युवाहरुले बुढेसकालमा सामाजिक सुरक्षा भत्ता मात्रै भए पनि सहज हुने थियो भनेर आवश्यक पहल गर्न थाले । १० मंसिर १९९८ मा जन्मिनु भएकी कान्छीमाको सोही गाउँमा तप्के शेर्पासँग ५ जेठ २०२६ मा विवाह भएको थियो । तर विवाह दर्ता लगायतका पञ्जिकरणका कुनै कामहरु गर्न पाउनु भएन ।

अर्को विवाह गरेका श्रीमानको १५ असार २०६८ मा मृत्यु भएको थियो । कान्छी श्रीमती पट्टीको झड्केलो छोरासँग नाता प्रमाणित गरेर वडाबाट सर्जिमिन मुचुल्का लगायतका कागजी प्रक्रिया पूरा गरेर सदरमुकाम खाँबारी आउनु भयो । समाचार एजेन्सी न्यूज कारखानाले जनाएअनुसार जिल्ला प्रशासन कार्यालयबाट प्रहरी मुचुल्का चाहिने भन्दै जिल्ला प्रहरी कार्यालय पठायो । तर प्रहरीबाट वडादेखिको सिफारिसमा नै त्रुटी भएको, सच्याएर ल्याउनु भन्दै फर्काएपछि उहाँहरु आजित भएको कान्छीमाको आफन्त सोना तेन्जिङ शेर्पाले बताउनु भयो । यद्यपि नागरिकता पाउँदा भने खुसी लागेको उहाँले बताउनु भयो ।