अछाम, असोज १ । एमाले उपाध्यक्ष भीम रावलले सत्तापक्षले कुनै पहल नगरेको कारण संसद्को अवरोध कायम रहेको प्रष्ट पार्नुभएको छ । वर्तमान सरकार तथा सत्ता साझेदार सांसदहरूले अवरोध समाधान गर्नुभन्दा पनि पेलेरै अघि बढ्न खोजेको पनि रावलको बताउनु भयो ।
प्रेस चौतारी अछामले सदरमुकाम मंगलसैनमा गरेको पत्रकार सम्मेलनमा रावलले नेपालको संविधान जारी भएयता नै देशमा स्थिरता हुन नसकेको भन्दै नेपाली जनताले निर्वाचित गरेका प्रतिनिधिको सार्वभौम थलो संसद् भएको र यसले आफ्नो उपयोगितालाई सिद्ध गर्नुपर्ने बताउनु भयो ।
प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेता रावलले जनताप्रतिको उदासीनताकै कारण अहिले सरकारले बजेट खर्च गर्न नपाउने अवस्था सिर्जना भएको बताए । नेपालको इतिहासमै पहिलो पटक यस्तो समस्या आए पनि सरकारलाई कुनै चिन्ता नरहेको उहाँले बताउनु भयो ।
दुई महिना बितिसक्दासमेत मन्त्रीमण्डलले पूर्णता नपाउनु अर्को विडम्बना भएको रावलले बताउनु भयो । राजनीतिक दल विभाजित हुन नहुने भन्दै संविधान जारी गर्दा निकै मेहनतका साथ राजनीतिक दल विभाजनका लागि केन्द्रीय कमिटी र संसद्मा ४० प्रतिशत हुनुपर्ने व्यवस्था गरिएको उहाँले स्मरण गर्नुभयो । तर, वर्तमान सत्ता साझेदार दलले अहिले कुनै एउटामा मात्रै २० प्रतिशत भए पार्टी विभाजन गर्न सकिने अध्यादेश ल्याएर ठूलो गल्ती गरेको रावलको ठहर छ ।
देशको स्वाधीनता तथा अखण्डता संकटमा परेको बेला वर्तमान सरकार चुपचाप बसेको आरोप पनि उपाध्यक्ष रावलले लगाउनु भयो । ‘नेपालीलाई तुइन काटेर नदीमा फालियो, अनधिकृत रूपमा नेपाली आकाशमाथि हेलिकप्टर उडाइयो, एमसीसी पास गर्न दवाब दिँदै नेताको दैलो चहारियो । तर, यसका विरुद्ध कुनै ठोस कार्य भएनु, रावलले भन्नुभयो, ‘लिपुलेक लिम्पियाधुरा, कालापानीलाई सरकारले यो समस्या हो भन्यो, यो आपत्तिजनक काम हो ।’
पार्टी विधान अनुसार आफू पार्टीको उपाध्यक्ष र सुदूरपश्चिम संयोजक रहेको पनि रावलले बताउनु भयो । पार्टी अध्यक्ष केपीशर्मा ओलीसँग पनि त्यही कुरा कुरा भएको र सुदूरपश्चिममा समस्या भएको अवस्थामा आफूसहित लेखराज भट्ट र कर्ण थापाको टोलीले सहजीकरण गर्न निर्देशन आएको रावलको भनाई छ । सबै नेता कार्यकर्ताको प्रयासले एमाले पुरानै अवस्थामा आउने रावलले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्