जनता टाइम्स

३ आश्विन २०७८, आईतवार १४:५९

संविधान दिवसमा चितवन कारागारका २३ कैदीलाई आममाफी


चितवन , ३ असोज । संविधान दिवसको अवसरमा चितवन कारागारका २३ कैदीले आममाफी पाएका छन् । बानी व्यवहारमा राम्रो आचरण भएका र आधा कैद भुक्तान गरिसकेका कैदीलाई संविधान दिवसको दिन राष्ट्रपतिले आममाफी दिने गर्नुभएको छ । आममाफी पाएका २३ जना कैदी आज कारबागारबाट छुटेका चितवन कारागारका प्रमुख जेलर कमल काफ्लेले जानकारी दिनुभयो ।

आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका नौजना, कर्तव्य ज्यानका तीनजना, ज्यान मार्ने उद्योगका दुईजना, बहुविवाहका चारजना, हातहतियार मुद्दाका एक र चोरी मुद्दाका चारजना कैदी छन् ।

उनीहरू छुटेपछि अब कारागारमा तीन आश्रित बालिका र ६ सय ९१ जना कैदी बाँकी रहेका काफ्लेले बताउनुभयो । बाँकी कैदीमध्ये ४५ महिला र ६ सय ४६ पुरुष कैदी छन् । चितवन कारागारको क्षमता दुई सय ८० जना रहेको छ । तर, यस कारागारमा क्षमताको तीन गुणासम्म कैदीलाई राख्ने गरिएको छ ।