जनता टाइम्स

३ आश्विन २०७८, आईतवार १८:०१

मधेशमा एमालेप्रतिको भ्रम तोडियो : महेश बस्नेत


जनकपुर, असोज ३ । एमाले नेता महेश बस्नेतले विगतमा मधेशमा नेकपा एमालेप्रति देखिएको भ्रम अन्त्य भएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल जनकपुरको कार्यालय उद्घाटन गर्दै बस्नेतले विगतमा एमालेप्रति मधेशमा एक खालको भ्रम रहेको तर अहिले त्यो भ्रम तोडिएको बताउनु भयो ।

‘हाम्रा पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति एक खालको भ्रम थियो, आज त्यो भ्रमका सारा पर्दाहरु खुल्न थालेका छन,’ बस्नेतले भन्नुभयो । संविधान जारी गर्दा नेकपा एमालेले केही कुरालाई विशेष ध्यान दिएको उहाँले बताउनुभयो । २ सय ४६ वर्षदेखिको सामन्तवादको प्रतिकको रुपमा रहेको राजसंस्था नेपाली जनताको हितको निमित्त बाधक छ भन्ने निष्कर्ष एमालेले निकालेको उहाँले बताउनुभयो । उहाँले गणतान्त्रिक नेपाल स्थापना गर्न नेपाली जनता सफल भएको पनि प्रष्ट पार्नुभयो ।

जनकपुरमा भैसी चराउने किसानको छोरा रामवरण यादव र भोजपुरमा घाँस दाउरा गरेर हुर्किनुभएकी किसानकी छोरी विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाएर नेपालको संविधानले गणतन्त्रलाई संस्थागत बनाएको उहाँले बताउनुभयो । अब हामीले कार्यान्वयन गरेको संघीयता ठीक भयो कि बेठीक भयो भन्ने समिक्षा गर्ने बेला आएको उहाँले बताउनुभयो । नेपालका सातवटा प्रदेश सरकार मध्ये २ नं प्रदेश सरकार सबैभन्दा बदनाम र भ्रष्ट सरकारको रुपमा परिचित भएको दावी पनि उहाँले गर्नुभयो ।