जनता टाइम्स

४ आश्विन २०७८, सोमबार १५:४०

दल बिभाजनसम्बन्धी लोकतन्त्रविरोधी अध्यादेश खारेजीपछि मात्रै सरकारले पूर्णता पाउँछ : उपेन्द्र


काठमाडौं, असोज ४ । सत्तारुढ गठबन्धनका नेता एवं जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश लोकतन्त्रविरोधी रहेको बताउनुभएको छ । संसद भवनमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष यादवले लोकतन्त्र र राजनीतिक दललाई कमजोर बनाउने अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषदले पूर्णता पाउन नसक्ने बताउनुभयो ।

‘राजनीतिक दलसम्बन्धी अध्यादेश दलहरु फुटाउने, कलह बढाउने र लोकतन्त्रलाई कमजोर बनाउने अध्यादेश हो । यो अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषदले पूर्णता पाउन सक्छ’, यादवले भन्नुभयो । उहाँले सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डै भइनसकेको समेत खुलाशा गर्नुभयो । ‘सरकारले चाडै पूर्णता पाउँछ । त्यसका लागि मन्त्रालय बाँडफाँट हुनुपर्छ । त्यो हुन सकेको छैन । अध्यादेश खारेज गर्नुपर्छ, मन्त्रालय बाँडफाँट गर्नुपर्छ । त्यसपछि सरकारले पूर्णता पाउँछ’, यादवले भन्नुभयो ।