जनता टाइम्स

५ आश्विन २०७८, मंगलवार १२:१३

आठ वर्षदेखि रोकिएको नागेंचा नाच आजबाट सुरु हुने


काठमाडौँ, ५ असोज । आर्थिक अभाव भएर २०७० सालपछि रोकिएको नागेंचा प्याखँ (नाच) सञ्चालन गर्न काठमाडौं महानगरले अनुदान दिएको छ । अनुदान पाएपछि यस वर्षदेखि नाच प्रदर्शन थालिएको छ । हरेक वर्ष यँया पुन्हीबाट सुरु भएर तीन दिनसम्म चावहिल, जय बागेश्वरीलगायतका नौ ठाउँमा नाच प्रदर्शन गर्ने परम्परा छ । महानगरपालिका–७ चारुमती विहारमा २०७० सालमा प्रदर्शन भएको नाच त्यसपछि ४ असोज २०७८ चारुमती विहारमा प्रदर्शन गरियो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नाचमा बजाइने वाद्य सामाग्री गुठीयारहरूलाई दिएर नाच शुभारम्भ गरेका थिए ।

विहारमा नाच्नुअघि चावहिल स्तुपनजिक रहेको नास द्यः (नाचका देवता) को पूजा गरेर नाच सुरु गरिएको थियो । यो पूजा जयबागेश्वरीका गुरुजुले गराउने चलन छ । नाच आज बेलुका साढे ६ बजे जयबागेश्वरी मन्दिरमा परिसरमा नचाइनेछ । यो नाच पशुपति क्षेत्रमा रहेको अमालकोट कचहरीले सञ्चालन गर्ने गरेको थियो । यसका लागि एक लाख रुपैयाँ दिने गथ्र्यो । त्यो रकमले नाचसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न नपुग्ने भएपछि बन्द भएको थियो । नागेँचा प्याखँ संरक्षण समितिका अध्यक्ष जलाद वैद्यले भन्नुभयो, ‘काठमाडौँ महानगरले नाचलाई पुनर्जीवन दियो । यसबाट स्थानीयहरूमा खुसीको सञ्चार प्रवाह भएको छ ।’

शिव पार्वतीको प्रेम कथामा आधारित यो नाचलार्ई किराँतकालीन मानिन्छ । ४५ मिनेटदेखि एक घण्टासम्म देखाइने यो नाचको अन्त्यमा शिव र पार्वतीको भेट हुन्छ । संयोगान्त कथामा नाच समापन हुन्छ । सम्पदा तथा पर्यटन विभागका उपनिर्देशक सृजु प्रधानका अनुसार रोकिएको नाच पुनःसञ्चालन गर्न प्रशिक्षण चलाउनुपर्ने, बाजा, पोशाक, मुकुट र गहना किन्नुपर्ने भएकोले गएको बर्ष धेरै रकम थियो । अहिलेसम्ममा नाच सञ्चालन गर्ने आधार तयार भएको छ । यस वर्षका लागि पाँच लाख रुपैयाँ छ ।