जनता टाइम्स

६ असार २०७६, शुक्रबार ११:२६

हावाहुरीले छानो उडाउँदा अन्नको चिन्ता


पाल्पा, असार ६

पाल्पाको रामपुरमा हावाहुरीका कारण जस्तापाता र टिनको छाना उडाएर क्षति पुर्याएको छ । रामपुर नगरपालिका वडा नम्बर ३ बोटेगाउँका तीन घर तथा रामपुर– ८ बराहटारमा एक घरमा क्षति पुगेर राहतका लागि अनुरोध गर्दै निवेदन पेश गरिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

लामो समयपछि वर्षासँगै आएको हावाहुरीका कारण बोटेगाउँका राजन शर्माको तीनतले घरको टिनको छाना उडाएर क्षति पुगेको छ । गारोसँगै टिनको छाना उडाउँदा करीब रु एक लाख बराबरको क्षति पुगेको शर्माले जानकारी दिनुभयो । त्यस्तै स्थानीयवासी विष्णुमाया बोटेको तीनतले घरको छानो उडाएको छ ।

सोही ठाउँका टीकाराम बोटेले बाँसले बारिएको आफ्नो एककोठे घर नै भत्कनाका साथै टिन उठाएर क्षति पु¥याएको गुनासो गर्नुभयो । घरको टिनको छानो उठाउँदा विष्णुमायाको करीब रु ९० हजार तथा टीकारामको रु ३५ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

त्यस्तै बराहटारमा ओमबहादुर विकको इँटा र माटाले बनेको दुईतले कच्चीघरको भाटा तथा टिनको छाना उठाएर करीब रु एक लाख २० हजारबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिं रानाले बताउनुभयो । उहाँका अनुसार हावाहुरीले पुर्याएको क्षतिले आफूहरु समस्या परेको भनी सहयोग गरिदिन अनुरोधसहित प्रभावितले निवेदन पेश गरेका छन् ।

छाना उडाएपछि पानी तथा चर्को घाम लागेकाले प्रभावित चिन्तामा छन् । गाउँघरमा घरको माथिल्लो तलामा धान, मकै, गहुँलगायत अन्न राखिने भएकाले पनि घरको छानै नभएपछि बिग्रने चिन्ता छ । हावाहुरी प्रभावितले गुन्द्री तथा पालले छोपेर छानो बनाएका छन् ।