जनता टाइम्स

५ आश्विन २०७८, मंगलवार १७:५९

सरकारी गुण्डागर्दीको प्रतिवादमा उत्रन ओलीको निर्देशन


काठमाडौं, असोज ५ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी सुरु भएको भन्दै प्रतिवादमा उत्रन पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ । अनेरास्वबियुले आज आयोजना गरेको नयाँ नेतृत्वको पदस्थापन समारोहमा अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो ।

‘सरकार निर्देशित, सरकार संचालित, सरकार संरक्षित गुण्डागर्दीको तपाईंहरूले भण्डाफोर गर्नुपर्छ, प्रतिवाद गर्नुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘जनता शान्तिपूर्ण ढंगले बाँच्न चाहन्छ । एउटा न्यायपूर्ण समाज होस, न्यायपूर्ण व्यवहार होस । र त्यहाँ शान्तिपूर्ण, भयरहित सम्मानजनक व्यवहार होस भन्ने जनता चाहन्छन । तर, जनतालाई त्यसरी बस्न दिँदै दिइएन भने जनताले के गर्छ ? प्रतिवाद गर्नु परेन ?’

उहाँले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रनै पर्ने बताउनु भयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले भयरहित ढंगले जीवनयापन गर्न चाहेका जनताको चाहनाविरुद्ध सरकार लागे प्रतिवादमा उत्रनुको विकल्प नरहेको प्रष्ट पार्नुभयो ।

‘२०१७ सालमा दुई तिहाई ल्याएको काँग्रेस संसद सबै अपदस्थ गर्दा पनि कांग्रेस केही पनि बोलेन । कोही पनि बोलेन । ३० वर्षसम्म किन चल्यो ? पछि त्यही सिको गरेर ज्ञानेन्द्रले गरेको होइन माघ १९ ? को घटना ? माघ १९ गर्दा ०६१ सालबाट ०६२ को अन्त्यमा पुग्दा त्यो शासन नै अन्त्य गरिदिए जनताले,’ ओलीले भन्नुभयो, ‘जनतालाई सरकारले दुःख दिनु हुँदैन । लोकतन्त्र केही मानिसहरू शासनमा पुग्ने प्रणालीमात्रै होइन । जनतालाई छकाउने प्रणाली होईन, जनतालाई सेवा गर्ने, जनताको अधिकारको सुरक्षा गर्ने प्रणाली हो ।’

अध्यक्ष ओलीले जस्केलाबाट सत्तामा पुगेको सरकारले धेरै फुर्ति नलगाउन र जनताबिरुद्ध अनावश्यक हतकण्डा नअपनाउन पनि चेतावनी दिनुभयो ।