जनता टाइम्स

६ आश्विन २०७८, बुधबार ०९:२५

११ देशमा राजदूत पदपूर्ति नगरी देउवा सरकारले उल्टै फिर्ता बोलायो थप १२ देशका राजदूत



सरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १२ मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले ५ वर्षयता विभिन्न समयमा केपी शर्मा ओली सरकारबाट राजनीतिक नियुक्ति पाएका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

देउवा सरकारले फिर्ता बोलाउने निर्णय गरेका यी राजदूत ओलीको पहिलो र दोस्रो कार्यकालमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राजदूत फिर्ता बोलाउने निर्णय गरेसँगै अब विदेशमा रहेका २३ स्थानमा राजदूत पद रिक्त भएका छन् । फिर्ता बोलाइएका १२ राजदूतबाहेक विभिन्न मुलुकमा ११ दूतावास नेतृत्वविहीन छन् भने परराष्ट्रको नेतृत्व गरेर १० मुलुकमा कूटनीतिक राजदूतहरू छन् । तत्कालीन ओली सरकारले ११ जनालाई विभिन्न मुलुकका लागि राजदूतमा गरेको सिफारिसलाई गठबन्धन सरकार बनेको केही दिनमै देउवा सरकारले खारेज गरेको थियो ।

सरकारको यो निर्णयसँगै अमेरिकाका लागि राजदूत युवराज खतिवडा, बेलायतका लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका राजदूत निर्मल विश्वकर्माले एक वर्ष पनि आफ्नो कार्यकाल पूरा गर्न पाउनु भएन । ओली सरकारको कार्यकालमा पूर्वअर्थमन्त्री खतिवडालाई २०७७ पुस ७ गते, पूर्वमुख्यसचिव रेग्मीलाई माघ ५ गते र विश्वकर्मालाई फागुन ११ गते राजदूत नियुक्त हुनुभएको थियो । यस्तै २०७७ वैशाख ५ गते चीनका लागि पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे नियुक्त हुनुभएको थियो ।

भारतका लागि नीलाम्बर आचार्य २०७५ माघ २) गते नियुक्त हुनुभएको थियो । आचार्यसहित ओली सरकारले इजरायलका लागि अन्जान शाक्य, स्पेनका लागि दावा फुटी शेर्पा, बंगलादेशका लागि वंशीधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र मलेसियाका लागि उदयराज पाण्डेलाई राजदूतमा पठाएको थियो । यस्तै कार्यकाल सकिए पनि जापानको राजदूतका रूपमा काम गरिरहनु भएकी प्रतिभा राणालाई पनि सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ । राणा प्रधानमन्त्री देउवाकी सासू हुनुहुन्छ ।

राणा र ओमानकी राजदूत शर्मिला पराजुली २०७४ वैशाखमा राजदूत नियुक्त हुनुभएको थियो । दुवैलाई ओली सरकारले अर्को व्यवस्था नभएसम्म काम गरिरहन २०७७ चैतमा निर्णय गरेको थियो । दुवैको २०७८ वैशाखमा ४ वर्षे कार्यकाल सकिएको थियो ।सरकारको यो निर्णयलाई कुटनीतिक क्षेत्रका बिज्ञहरुले प्रतिशोधको प्रतिगामी निर्णय भन्ने टिप्पणी गरेका छन ।

फिर्ता बोलाइएका १२ राजदूत

नीलाम्बर आचार्य (भारत)
युवराज खतिवडा (अमेरिका)
शर्मिला पराजुली (ओमान)
लोकदर्शन रेग्मी (बेलायत)
निर्मल विश्वकर्मा (द।अफ्रिका)
अन्जान शाक्य (इजरायल)
दावा फुटी शेर्पा (स्पेन)
वंशीधर मिश्र (बंगलादेश)
उदयराज पाण्डे (मलेसिया)
नारदनाथ भारद्वाज (कतार)
महेन्द्रबहादुर पाण्डे (चीन)
प्रतिभा राणा (जापान)