जनता टाइम्स

६ आश्विन २०७८, बुधबार ०९:४८

साहस उर्जाको आईपिओ आजदेखि, १० देखि १० लाख ५० हजारसम्म आबेदन दिन पाउने ब्यवस्था


काठमाडौं,असोज ६ । ८६ मेगावाटको सोलु खोला हाइड्रोइलेक्ट्रिक आयोजनाबाट निर्माण गरिरहेको साहस उर्जा लिमिटेडले आजबाट सर्वसाधारणको लागि साधारण सेयर निष्काशन बिकी खुला गरेको छ । साहस उर्जाले प्रति कित्ता १०० रुपैयाँका दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशन गरेको हो ।

७० लाख कित्ता मध्ये ३ प्रतिशत सेयर २ लाख १० हजार कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फण्डको लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ। इच्छुकले कम्तिमा १० र बढीमा १० लाख ५० हजारसम्म आबेदन दिन पाउनेछन्। शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस आईपिओमा असोज १० सम्म आवेदन दिन सकिने छ ।

साहस उर्जा लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत साहस उर्जा प्राईभेट लिमिटेडको नामबाट मिति २०७०/१०/१९ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई मिति २०७१/०५/२९ गते कम्पनी रजिष्ट्रारको कार्यालयको निर्णय अनुसार प्रालिबाट परिवर्तन भई पब्लिक लिमिटेडको रुपमा साहस उर्जा लिमिटेडको नामबाट दर्ता भएको कम्पनी हो । कम्पनीको कारोवार गर्ने मुख्य स्थान काठमाडौंको हात्तीसारमा र आयोजनास्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पुर्वाधारहरु सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिका, सोलुखुम्बु जिल्लामा अवस्थित रहेकोछ ।

कम्पनीमा हाल ८०८७ जना संस्थापक शेयरधनी रहेका छन् । कम्पनीको प्रवन्धपत्र तथा नियमावली अनुसार जारी पूँजीको ७० प्रतिशत संस्थापक शेयर, १० प्रतिशत सोलुखुम्बु जिल्लाका वासिन्दा र २० प्रतिशत सर्वसाधारण, कम्पनीमा कार्यरत कर्मचारी र अन्य शेयरधनीहरुको लागि छुट्टयाइ बांडफांड गर्ने व्यवस्था रहेको छ । संगठित संस्थाले कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दुधकोशी) जलविद्युत आयोजनाको विकास निर्माण गरिरहेको छ । उक्त आयोजनाको प्रमुख पानीको स्रोत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिका लगायतका गाउँपालिकाहरुमा अवस्थित सोलु खोलाको पानी रहेको छ ।