काठमाडौं, असोज ६ । पोखरा महानगरपालिका–३२ बडहरेकी ४८ वर्षीया महिलाको कानको रिङ लुट्ने पक्राउ परेका छन् । घाँस काट्न बारीमा गएका बेला ढुंगाले हानेर बेहोस बनाई एक तोलाको रिङ लुट्ने लुटेरा भोलिपल्टै पक्राउ परेका हुन् । मारियम गुरुङको कानको लोती काटी सुन लुटेको आरोपमा प्रहरीले माचिन तामाङलाई हिजै पक्रेको हो ।
उहाँको साथबाट लुटिएको २ वटा रिङ जस्ताको तस्तै फेला परेको प्रहरीले जनाएको छ । तामाङ तल्लो गगनगौंडबाट पक्राउ परेका हुन् । धादिङ घर भएका ४६ वर्षीय तामाङ अहिले पोखरा महानगरपालिका–३२ खुदीखोला बस्दै आएका थिए । यसअघि सोमबार ११ बजेतिरको समयमा गुरुङले घाँस काटिरहँदा एक्कासि छातीमा ढुंगाले हानेर बेहोस बनाई कानै काटेर आधा–आधा तोलाको २ वटा बेरुवा रिङ लुटिएको थियो ।
बारी नजिकै घर भएका स्थानीयले देखेर हल्लाखल्ला गरेपछि आफन्तहरु घटनास्थल पुगेका थिए । बेहोस भइसकेकी मरियमको कानका २ वटा रिङ थिएनन् । घटनास्थलमा पुग्दा कानबाट रगत आइरहेको देखेपछि लगत्तै प्रहरीलाई खबर गरिएको थियो । घाइते गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गरी घर फर्किइएको छ ।













प्रतिक्रिया दिनुहोस्