जनता टाइम्स

६ असार २०७६, शुक्रबार ११:५२

कालिगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका कर्मचारीको आन्दोलन स्थगित


स्याङ्जा, असार ६

कालिगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका कर्मचारीले असार १ गतेदेखि गर्दै आएको आन्दोलन केही समयका लागि स्थगित गरेको जनाएका छन् । नेपाल विद्युत् प्राधिकरण कर्मचारी प्रशासनले जेठ ३० गते कालिगणकी ‘ए’ जलविद्युत् केन्द्रका ६० कर्मचारीको एकैसाथ सरुवा गरेपछि आन्दोलनमा उत्रिएका कर्मचारीले बिहीबारबाट आन्दोलन स्थगित गरेको जनाएका छन् । कर्मचारीले बेमौसममा आफूहरुलाई सरुवा गरेर दुःख दिन खोजेको भन्दै आन्दोलन गरेका थिए ।

कार्यरत कर्मचारीले आफ्ना बालबच्चा विद्यालयमा भर्ना गरिसकेपछि भएको सरुवाले पढाइमा समेत बाधा पुर्याएको बताउँदै कर्मचारीको मनोबल गिर्ने गरी सरुवा नर्गन आग्रहसमेत गरेका छन् । कालिगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा कार्यरत कर्मचारीको सङ्गठन कालिगण्डकी राष्ट्रिय कर्मचारी युनियन कालिगण्डकी ‘ए’ जलविद्युत् केन्द्र र कर्मचारी सङ्घ कालिगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका पदाधिकारीले केन्द्र प्रमुखलाई ध्यानाकर्षणपत्रसमेत बुझाएको जनाएका छन् । केन्द्रमा कार्यरत ५९ कर्मचारीको सरुवा भएको प्रमुख राजेशकुमार पाण्डेले जानकारी दिनुभयो । कर्मचारी सरुवाले भएको समस्या समाधानका लागि आफूले पहल गरिरहेको बताउनुभयो ।

तर जलविद्युत् केन्द्रमा कार्यरत एक कर्मचारीले कार्यालय प्रमुखले आफूलाई मन पर्ने केही कर्मचारीबाहेक अरुलाई अपायकपर्ने स्थानमा सरुवा गरेको आरोप लगाएका छन् । कार्यालय प्रमुख पाण्डेले विद्यालयमा बच्चाबच्ची भर्ना गरेर पढाइरहेका कर्मचारीलाई सरुवा नगर्ने निर्णय व्यवस्थापकले गरिसकेको बताउनुभयो । कर्मचारीले आफूहरुलाई अपायकपर्ने स्थानमा दुःख दिने नियतले सरुवा गरिएको भन्दै असार १ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।