जनता टाइम्स

६ आश्विन २०७८, बुधबार २०:११

लोकतन्त्रका लागि अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक अपरिहार्य : राष्ट्रपति


काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी मान्यताप्राप्त निकाय प्रेस काउन्सिलले सञ्चार क्षेत्रलाई अब्बल रूपमा उभ्याउन कोसिस गर्नुपर्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको ५२औं वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो । उहाँले काउन्सिललाई स्वतन्त्र, स्वायत्त र प्रभावकारी बनाउन सबै निकायबाट सहयोग हुनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।

“जिम्मेवार पत्रकारिता, सुसूचित आमजनता र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् । लोकतन्त्रको अभ्यासमा आमसञ्चारको क्षेत्रमा देखिएका कमीकमजोरी हट्दै जानेछन् । पत्रकारजगतट आचारसंहिता पालना हुनेछ,” राष्ट्रपति भण्डारीले भन्नुभयो । दुई वर्ष सञ्चारमाध्यम र पत्रकार जगत्ले कोभिड–१९ को महामारीबाट पीडित हुने परेकामा दुःख लागेको बताउँदै उहाँले सङ्क्रमणको जोखिमपूर्ण परिस्थितिमा पनि समाचार सम्प्रेषणका माध्यमद्वारा पेशाप्रतिको दायित्व बहन भएको भनी सराहना गर्नुभयो ।

लोकतन्त्र र आमसञ्चार क्षेत्र एकअर्काको परिपूरक भएकाले लोकतन्त्र र मानवअधिकार प्रवर्धनका लागि आमसञ्चार क्षेत्रले अभिन्न अङ्गका रूपमा काम गरिरहेको बताउँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “लोकतन्त्रको सफलताका लागि अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक अपरिहार्य छ ।”

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वमा विकसित भएका नयाँ प्रविधिको प्रयोगलाई आत्मसात् गरी परिमार्जित र व्यवसायी बन्दै अघि बढेकै कारण नेपालको सञ्चार क्षेत्र उदाहरणीय बन्न सफल भएको बताउनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले पत्रकारिता क्षेत्रको नियमन निकायका रूपमा रहेको प्रेस काउन्सिलले सजग, सतर्क र चनाखो भएर सत्यतथ्यसहितको सान्दर्भिक सूचना सम्प्रेषण गर्ने गराउने विषयमा क्रियाशील हुन आवश्यक रहेको बताउनुभयो ।

पुरस्कृत व्यक्तित्व भारतदत्त कोइरालाले पत्रकारिता क्षेत्रमा बौद्धिक, आँटिलो र जोसिलो व्यक्तित्वको परिचय स्थापित गरेर बिदा हुनुभएका स्व. गोपालदास श्रेष्ठका नाममा स्थापित पुरस्कार प्राप्त भएकामा त्यसबेलाका व्यक्ति र पत्रकारिताको स्मरण भएको बताउनुभयो । समारोहमा राष्ट्रपति भण्डारीले काउन्सिलको पहिलो प्रकाशन वार्षिक अंग्रेजी संस्करण ‘पीसीएन इयर बुक २०२०/२१’ संहिता र काउन्सिलको ४६औं वार्षिक प्रतिवेदनको लोकार्पण गर्नुभएको थियो ।