जनता टाइम्स

७ आश्विन २०७८, बिहीबार ०८:४८

माधव नेपाल माओवादीमा विलय हुने विष्णु पौडेलले ठोकुवा, दिए यी आधार


पाल्पा, असोज ७ । एमाले उपमहासचिव विष्णु पौडेलले नेकपा एीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीमा विलय हुनकै लागि एमाले फुटाएको तथ्य खोल्नुभएको छ । एमाले पाल्पाको जिल्ला कार्यकर्ता भेलामा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका उपमहासचिव पौडेलले यस्तो तथ्य राख्नुभएको हो । ‘एमालेबाट छुट्टिएर गएको माधव नेपालको समूह पाँच–छ महिनाभित्र नेकपा माओवादी केन्द्रमा विलय हुन्छ, त्यसका प्रष्ट आधारहरु देखिइसकेका छन,पौडेलले भन्नुभयो, प्रचण्डसँग विलय हुनको लागि नेपालसमूहले आधारहरु खोजीको लागि गृहकार्य शुरु गरेको छ ।’

माओवादी अध्यक्ष प्रचण्डकै निर्देशनमा माधव नेपाल अगल भएको तथ्य पनि उहाँले राख्नुभयो । उहाँले माधव नेपाललाई माओवादीमा आफ्नो हैसियत कायम गरी दोस्रो अध्यक्ष बनेर देखाउन चुनौती पनि दिनुभयो । नेकपा एमालेबाट माधव नेपाल अगल भएकोमा सवैभन्दा बढी खुसी प्रचण्डलगायत माओवादी नेता र नेपाली कांग्रेसहरु भएको बताउँदै कोही खुसी हुँदैमा एमाले शक्ति कमजोर नभएको पौडेलले बताउनु भयो ।

अहिलेको नेकपा एमालेविरुद्धको पाँचदलीय गठवन्धन अब धेरै दिन नटिक्ने ठोकुवा त्यसका आधारहरु भत्किदै गएको एमाले निश्कर्ष पनि उहाँले सुनाउनु भयो । माधव समूहले पाँच दलीय गठवन्धनमार्फत चुनाव जाने तयारी गरेपनि नेपाली कांग्रेसले आगामी निर्वाचनमा सहयोग नगर्ने प्रष्ट रणनीति बनाएको उहाँको भनाइ छ ।

पौडेलले माधव नेपाल समूहलाई नेकपा एमालेले राजनीतिक शक्तिको रुपमा कदापि स्वीकार्न नसकिने बताए । नेपालको कानुन अनुसार कुनै पनि पार्टी र संसदीय दलमा ४० प्रतिशत कायम हुनुपर्ने नियम भएपनि कानुन विपरीत २० प्रतिशतको अध्यादेशको भरमा माधव समूहलाई राजनीतिक दलको रुपमा स्वीकार्य गर्न नसकिने नेता पौडेलले प्रष्ट पार्नुभयो । माधव नेपाल समूह प्रधानमन्त्री, सभामुख र विदेशी शक्तिको कृपाबाट प्रचलित कानुन विपरीत बनाइदिएको अवैधानिक झुण्ड भएको पनि उहाँको भनाई छ ।