जनता टाइम्स

७ आश्विन २०७८, बिहीबार २२:०९

नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी अपराध गर्ने व्यक्ति माधव नेपाल हो : शंकर पोखरेल


रामेछाप, असोज ७ । नेकपा एमालेका नेता शंकर पोखरेलले नेपालको संसदीय इतिहासमा सबैभन्दा बढी अपराध गर्ने व्यक्ति माधव नेपाल रहेको ठोकुवा गर्नुभएको छ । नेकपा एमाले रामेछापले बिहीबार मन्थलीमा आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो तथ्य राख्नुभएको हो ।

नेता पोखरेलले केपी ओलीका विरुद्ध एक पद एक व्यक्ति भन्ने माधव नेपाल अहिले सानो टुकडी लिएर जाँदा पनि अध्यक्ष र संसदीय दलका नेता समेत बनेको भन्दै माधवले पदकै लागि नयाँ पार्टी गठन गरेको बताउनुभयो । माधवको विधि र पद्धतिका कुरा ओठेभक्ति सावित भएको दृष्टान्त पनि पोखरेलले राख्नुभयो । ‘नेपालको संसदीय इतिहासमा सबैभन्दा बढी अपराध गर्ने व्यक्ति माधव नेपाल हो, केपी ओलीका विरुद्ध एक पद एक व्यक्ति भन्ने माधव नेपाल अहिले सानो टुकडी लिएर जाँदा पनि अध्यक्ष र संसदीय दलका नेता बनेका छन, जस्ले उहाँको विधि र पद्धतिका कुरा ओठेभक्ति सावित भएको छ’, पोखरेलले भन्नुभयो ।

उहाँले केपी ओलीलाई हटाउने मिसन देश भित्रको मिसन मात्र नभएको बताउनुभयो । ‘त्यो मिसनको औजार नेताहरु बनेका थिए’, उहाँले भन्नुभयो । पोखरेलले प्रचण्डले अख्तियार गरेको रणनीतिको कारण नेकपा एकता प्रयास असफल भएको बताउनुभयो । पार्टी एकताको रक्षाको लागि प्रचण्डलाई आफूले व्यक्तिगत रुपमा पनि धेरै अनुरोध गरेको भए पनि उहाँको नियत पार्टी एकताको पक्षमा नरहेको पोखरेलले बताउनुभयो । ‘उहाँले जुन खालको रणनीति बनाउनुभयो, त्यो नीति नै हाम्रो एकतालाई असफल गर्ने आधार बन्यो’, उहाँले भन्नुभयो ।

केपी ओली महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुनुभएकोले उहाँलाई महाधिवेशनबाट नै हटाउन प्रचण्डलाई प्रस्ताव गरेको भए पनि प्रचण्डले अस्वीकार गरेको तथ्य पनि उहाँले राख्नुभयो । प्रचण्डले प्रधानमन्त्री बन्न रहर गर्दा संसदीय दलको नेता बन्न आफूले सुझाव दिएकोमा उहाँ त्यसका लागि समेत तयार नभएको पोखरेलले बताउनुभयो ।

मनमोहन अधिकारीले कम्युनिष्टको उचाइ उठाएको कारण एमालेलाई कमजोर पार्न प्रतिक्रियावादीले प्रचण्डमार्फत सशस्त्रयुद्ध सुरु गराएको जिकिर पनि पोखरेलले गर्नुभयो । प्रचण्ड र बाबुरामले त्यतिबेला भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेईलाई भेटेर भारतका विरुद्ध कुनै गतिविधि नगर्ने प्रतिवद्धता व्यक्त गरेको उहाँको भनाई छ । पोखरेलले प्रचण्डले सशस्त्र युद्धको बेलामा भन्ने गरेको ढाडमा टेकेर टाउकोमा हान्ने उखानलाई पार्टी एकतापछि कार्यान्वयनमा ल्याउने गरेको बताउँदै भन्नुभयो, ‘एकता पछाडि उहाँले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हिर्काएर आफूलाई सुरक्षित गर्न खोज्नुभयो, नेकपा एमालेको अन्तरविरोधमा उहाँले खेल्न खोज्नुभयो, त्यसका आधारमा सिंगो आन्दोलनलाई कब्जा गर्ने योजना बनाउनुभयो, आज पार्टी एकतामा संकट उत्पन्न हुनुको पछाडिको कारण त्यही हो ।’

पोखरेलले प्रचण्ड र माधव नेपाल अब कम्युनिष्ट शक्ति नभएको पनि उहाँको भनाई छ । दक्षिणपन्थी शक्ति कांग्रेससँग मिलेपछि प्रचण्ड र माधव पनि दक्षिणपन्थीका मतियार भएको पोखरेलको भनाइ छ । प्रचण्डले एकता भंग गरे पनि एमाले एकताको पक्षमा रहेको उहाँको भनाइ छ । नेकपा एमाले एकताको पक्षमा भएकै कारण माओवादीका धेरै नेता एमालेमा नै रहेको बताउनुभयो । आजको एमाले पुनस्थापित एमाले मात्र भन्ने बुझाइ भयो भने त्यो गलत हुने उहाँले प्रष्ट पार्नुभयो । नेकपा एमाले एकता र एकिकरणमा विश्वास गर्ने पार्टी भएको उहाँले बताउनुभयो ।

‘फुट र विभाजनको प्रवृत्तिको नायक प्रचण्ड हो, हामी होइन, प्रचण्ड फुट र विभाजनको प्रतिक हो, नेकपा एमाले एकताको प्रतिक हो’, उहाँले भन्नुभो । एमालेको अन्दोलनबाट अलग हुनेले कहिल्यै सफलता प्राप्त नगर्ने ठोकुवा पनि पोखरेलले गर्नुभयो । ‘उहाँहरु जुनबाटो हिँड्दै हुनुहुन्छ त्यसले उहाँहरुको विनाश गर्ने छ, उहाँहरु एमालेलाई देखाउँछु भन्दै हुनुहुन्छ, देखाउने होइन उहाँहरुले आफ्नै भविष्य कस्तो हुन्छ भन्ने हेर्नुहुन्छ, त्यो हेर्न धेरै समय पर्खनु पदैन’, पोखरेलले भन्नुभयो ।

माधव नेपालले बनाउनुभएको समूहमा प्रतिनिधि सभा र प्रदेश सभामा मन्त्री बनाउँछौँ भन्दा केही मानिस देखिए पनि स्थानीय तहमा त्यसको कुनै प्रभाव नपरेको बताउनुभयो । पार्टी सदस्यता नविकरणमा पुग्दा त्यसको प्रभाव दुई प्रतिशत भन्दा बढी नपर्ने उहाँले बताउनुभयो ।