जनता टाइम्स

९ आश्विन २०७८, शनिबार १४:५४

लगानीको स्रोत खोल्नुनपर्ने प्रावधानप्रति प्रकाशमानको कडा आपत्ति


काठमाडौं, असोज ९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अर्थमन्त्री जनार्दन शर्माले बजेटमा राखेको ठूला लगानीको स्रोत खुलाउनु नपर्ने प्रावधानप्रति कडा आपत्ति जनाउनु भएको छ । काठमाडौं महानगरपालिका–१७ मा आज आयोजित कार्यक्रममा सिंहले ठूला लगानीको स्रोत खुलाउनु नपर्ने प्रावधानप्रति आपत्ति जनाउनु भएको हो ।

‘लगानीको स्रोत खोल्न नपर्ने कुरा स्वीकार्य छैन, यस्तो काममा प्रधानमन्त्री सतर्क हुनुपर्छ, सरकार गठबन्धनको छ। तर, प्रधानमन्त्रीले यस्ता महत्वपूर्ण कुरामा गम्भीरताताका साथ सोच्नुपर्छ,’ सिंहले भन्नुभयो । गठबन्धन सरकारलाई काम गर्न सहज नभए पनि जनचाहाना अनुरुप अघि बढ्न केन्द्रित हुनुपर्नेमा पनि नेता सिंहको जोड दिनुभयो ।

सरकारले पूर्णता नपाउनुको मुख्य कारण प्रधानमन्त्री शेरबहादुर देउवा नभएर गठबन्धनभित्र रहेका दलहरु रहेको पनि सिंहको दावी थियो । ‘केही दल नयाँ बनिरहेका छन्। ती भित्र केही आन्तरिक समस्या छन्। जसले सरकारले पूर्णता पाउन ढिला भएको छ,’ सिंहले भन्नुभयो, ‘यसलाई पार्टी सभापति प्रधानमन्त्री शेरबहादुरजीले गम्भीरता साथ जतिसक्दो गठबन्धनहेका दलसित कुरा गरेर पूर्णता दिनुपर्छ।’