जनता टाइम्स

९ आश्विन २०७८, शनिबार १४:५८

नाडाको ४५ औं वार्षिक साधारणसभा मंसिरमा


काठमाडौं, असोज ९ । नाडा अटोमोबाइल्स एशोसिएशनको ४५ औं वार्षिक साधारणसभा मंसिरमा हुने भएको हो । नाडाको साधारण सभा तथा निर्वाचन मंसिर २२ र २३ गते हुने भएको हो । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा असोज ८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । नाडाको साधारण सभा तथा निर्वाचन सोल्टी होटलमा हुने छ ।

नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई बर्षमा अध्यक्षलगायत संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशन समेत गठन गरिसकेको छ । यसअघि भदौ २४ र २५ गतेका लागि तोकिएको एसोसिएसनको निर्वाचन कोभिड–१९ का कारण प्रभावित भएको थियो ।

हाल अवस्था सुधारोन्मुख रहेको अवस्थामा व्यवहारिक दसैं तिहार तथा छठ पर्वपछि साधारणसभा र निर्वाचन गर्न उपयुक्त देखिएकाले सोही बमोजिम मिति तय गरिएको अध्यक्ष दुलालले बताउनुभयो । नाडाको आसन्न २४ औं निर्वाचनका लागि अध्यक्षमा व्यवसायी करण चौधरी र ध्रुव थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । यद्यपि, समझदारीमा एसोसिएसनको नेतृत्व चयनको गृहकार्य भइरहेको नाडाले जनाएको छ ।