जनता टाइम्स

१० आश्विन २०७८, आईतवार ०७:३९

नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने : सतर्कता अपनाउनु अनुरोध


काठमाडौँ, असोज १० । नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ ।

यो मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो। अबको एक सातामा यस वर्षको मनसुन बाहिरिन सक्ने उहाँले जानकारी दिनुभयो । यसअघि सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने गरेको थियो । मौसमविद् बासीले यस वर्षदेखि जुन १३ मा मनसुन भित्रिने र अक्टोबर दुईमा मनसुन बाहिरिने मिति तोकिएको बताउनुभयो ।

आगामी तीन दिनको मौसमको अवस्था

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान एक बुलेटिन जारी गर्दै आगामी तीन दिनको मौसमको अवस्थाबारे प्रक्षेपण गरेको छ । जसअनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक९दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार पनि देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आगामी २४ घण्टामा देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरूका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु अनुरोधसमेत गरेको छ।