बुटवल, असोज १० । नेपाली कांग्रेसको नगर अधिवेशनमा सभापति शेरबहादुर देउवा समूहको बर्चश्व देखिएको छ । ६ वटा नगरमध्ये दुई ओटाबाहेक सवैमा सभापति देउवा निकट नेताहरु निर्वाचित हुनुभएको हो ।
अधिवेशनमा बुटवल उपमहानगर र देवदह नगरपालिकामा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार विजयी हुनुभएको छ भने सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा र सैनामैनामा देउवा समूहबाट नगर सभापति निर्वाचित हुनुभयो । अधिवेशनमा बुटवल उपमहानगर सभापतिमा खेलराज पाण्डेय निर्वाचित हुनुभएको छ । वर्तमान नगर सभापतिसमेत रहनुभएका पाण्डेयले देउवा समूहकी रिता केसीलाई फराकिलो मतान्तरले पराजित गर्नुभयो । पाण्डेयले ४१२ मत प्राप्त गर्दा केसीले १२४ मत पाइन् ।
यस्तै पदाधिकारीमा एकजना सहसचिव बाहेक सबै पदमा पाण्डेय प्यानलका उम्मेदवार विजयी भएका छन् । उपसभापतिमा ज्योति भण्डारी ४०३ मत र हितमान पुन २ सय ८२ मत सहित विजयी हुनुभएको छ । केसी प्यानलका नर बहादुर रजालीले २३८ र हरिलाल सुनार १०२ मत पाउनुभयो । सचिवमा पाण्डेय प्यानलकै गंगा पन्थीले ३०७ मत र छाया पोखरेलले २ सय ९४ मत पाएर विजयी हुनुभएको छ । दुई जना सहसचिव मध्ये पाण्डेय प्यानलका देवलाल अर्गली २९७ र गणेश घिमिरे ३०० मत सहित विजयी हुनुभयो ।
तिलोत्तमा नगरपालिकामा देउवा समूहका हरिलाल पाण्डे झिनो मतले विजयी हुनुभएको छ । १७४ मत ल्याएर पाण्डे विजयी हुँदा पौडेल समूहका नारायण न्यौपानेले १ सय ७२ मत प्राप्त गर्नुभयो । अन्य सबै पदाधिकारी भने पाण्डे प्यानलकै विजयी भएका छन । तिलोत्तमामा सभापतिका अर्का उम्मेदवार हरि तिवारीले ३० मत प्राप्त गर्नुभयो ।
यस्तै सैनामैना नगरपालिकाको नगर सभापतिमा रणबहादुर खनाल निर्वाचित हुनुभएको छ । खनालले १२६ मत पाएर विजयी हुंदा प्रतिस्पर्धी कृष्णप्रसाद पोखरेलले १०२ मत पाउनुभयो । खनाल रुपन्देही ५ का संघीय सांसद भरत शाह निकट हुनुहुनछ भने पोखरेल बालकृष्ण खांण निकट हुनुहुन्छ ।
सिद्धार्थनगरमा देउवा पक्षकै कोसिस खड्का विजयी हुनुभयो । उहाँले पौडेल पक्षका संजीव शर्मा रेग्मीलाई पराजित गर्नुभएको हो । देवदहमा पौडेल समूहका गुणाखर भुर्तेल विजयी हुनुभएको छ । उहाँले देउवा समूहका झविन्द्र भण्डारीलाई पराजित गर्नुभयो । यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोहम्मद सइद खान निर्वाचित हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्