जनता टाइम्स

१० आश्विन २०७८, आईतवार ०९:१०

खोप लगाएका १४ प्रतिशतलाई संक्रमण, यस्तो छ कारण


काठमाडौं, असोज १० । कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप लगाएका १४ प्रतिशत संक्रमित बनेका हुन ।

नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार असोज पहिलो साता पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय ३९ मा संक्रमण देखिएको छ । तीमध्ये ८ सय १२ जना अर्थात् १३.९० प्रतिशतले पूर्ण वा एक डोज लगाएका थिए । संक्रमणका कारण मृत्यु हुनेहरूमा खोप लगाएकाको संख्या पनि निकै कम छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार असोज ७ मा संक्रमणका कारण १३ जनाको मृत्यु भएको थियो । जसमध्ये एक जना पनि खोप लगाएका संक्रमित थिएनन ।

खोप लगाएकामा संक्रमण छिटो निको हुने देखिएको छ । चिकित्सकहरुका अनुसार खोप लगाएकाहरू संक्रमण भए अस्पताल भर्ना हुँदा दुईरतीन दिनमै डिस्चार्ज हुने गरेको छन । त्यस्ता संक्रमितमा मृत्युदर पनि अत्यन्त न्यून छ । ‘खोप लगाएकामा रोगको जटिलता खासै देखिएको छैन,’ ईडीसीडीका निर्देशकसमेत रहेका मन्त्रालयका प्रवक्ता डा. पौडेलले भन्नुभयो, ‘देशभरका अस्पतालमा बुझ्दा खोप लगाएकाहरूको मृत्यु नगण्य छ ।’ चिकित्सकहरुले खोपले संक्रमण हुनबाट जोगाउन नसके पनि ज्यान बचाउने तथ्य आएको बताएका छन । खोप लगाएर पनि संक्रमित भएकाहरूको मुख्य समस्या ज्वरो वा अन्य रोग देखिएको छ । मधुमेह, रक्तचाप, टन्सिललगायत कोमर्बिडिटीका कारण खोप लगाएकालाई पनि अस्पताल भर्ना गर्नुपर्ने अवस्था रहेको हो ।

नेपालमा शनिबारसम्म पहिलो डोज ६५ लाख २८ हजार ३ सय ९२ र ६० लाख १४ हजार ९ सय ४१ जनाले पूर्ण खोप लिएका छन् । मन्त्रालयका अनुसार हालसम्म १८ वर्षमाथिका लक्षित जनसंख्यामध्ये ३० प्रतिशतले पहिलो र २७.६ प्रतिशतले दोस्रो डोज खोप लगाइसकेका छन् । शनिबार मात्र २ लाख १६ हजार ७ सय ३२ जनाले खोप लगाएका छन ।