जनता टाइम्स

१० आश्विन २०७८, आईतवार १६:०९

माधव नेपालको मुखुण्डो उदांगियो : गोकर्ण बिष्ट


काठमाडौं, असोज १० । एमाले सचिव गोकर्ण विष्टले सत्तारुढ पाँच दलीय गठबन्धनका लागि एमाले एक्लै काफी रहेको उदघोष गर्नुभएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठनको बृहत केन्द्रीय भेलालाई सम्बोधन गर्दै सचिव बिष्टले एमालेसँग एक्लै लडन सक्ने सामथ्र्य कसैसँग नभएकै कारण गठबन्धन बनाएको तथ्य जनताले बुझिसकेको बताउनु भयो ।

सचिव बिष्टले नेपालको राजनीतिमा एमाले अग्लो रुख र अरु सानातिना भएको ठोकुवा पनि गर्नुभयो । ‘नेपालको राजनीतिमा एमाले जंगलको अग्लो रुखजस्तै हो । कहिले आँधी, कहिले हुरी आउने गर्छ । तर निरन्तर अडिग हुन्छ,’ बिष्टले भन्नुभयो । उहाँले जो बलियो हुन्छ त्यसैविरुद्ध गठबन्धन हुने भन्दै ५ दलीय गठबन्धनका लागि एमाले एक्लै भारी रहेको बिभिन्न तथ्य राख्नुभयो । ‘एमाले प्रकाशको ताप हो । एक्लै काफी छ । लड्ने सामथ्र्य राख्छ । विजय प्राप्त गर्दछ । एमाले यो विश्वासका साथ अघि बढिरहेको छ,’ बिष्टको भनाई छ । उहाँले प्रचण्ड र माधवको कारण कम्युनिस्ट आन्दोलनमा कही नभएको जात्रा हाडी गाउँमा देखिएको पनि बताउनु भयो ।

विष्टले सर्वोच्च अदालतको फैसलाबाट एकता भंग भएपछि माधव नेपालसँग गएको र १० बुँदे सहमतिबाट एमाले पुरानै संगठनमा फर्किएपछि एकतामा आएको प्रष्टिकरण पनि दिनुभयो । माधव नेपाललाई पनि १० बुँदेमा टेकेर कुनै हालतमा एकतामा आउन सुझाव दिएको तर सल्लाह नै नगरि दल विभाजन गरेको विष्टको भनाई छ । ‘देङ स्याओ पिङले पार्टीभित्र फरक विचार राख्दा जेल जीवन भोगेका थिए । तर माओको निधनपछि देङ स्याओ पिङको नेतृत्वमा चीनले आधुनिकता पायो । कहिलेकाहीँ विभाजनभन्दा धैर्यता बलियो हुन्छ । तर यो मर्मलाई माधव नेपालले बुझ्न चाहनुभएन,’ बिष्टले भन्नुभयो ।

माक्रस र माओको जीवनमा समेत अल्पमतमा परेको भन्दै अल्पमतमा परे भन्दैमा विभाजनतर्फ जानु उचित नभएको उहाँको भनाइ छ । ‘विधिको वकालत गर्ने माधव नेपालले १० बुँदे मान्नुपर्थ्यो । तर १३ जना स्थायी कमिटीको बैठक राखेनन । १० जना त एकतामा जान वकालत गरिरहेको बेला कुनै छलफल नगरिकन विभाजन जानुले उहाँको मुखुण्डो उदाङ्गो भएको छ,’ उनले भने ।

ओलीको पालामा दल विभाजनसम्बन्धी अध्यादेश आउँदा अस्थिरता पैदा गर्छ भनेर ४० प्रतिशतले दल फुटाउने अध्यादेश ल्याउँदा विरोध गर्ने माधव र झलनाल खनालले कांग्रेस र माओवादीसँग मिलेर कम्युनस्ट आन्दोलन, एमाले कमजोर पार्न, ४० होइन २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याउनु संवैधानिक र नैतिक हिसाबले पनि बेठिक भएको पनि बिष्टले बताउनु भयो ।