जनता टाइम्स

१० आश्विन २०७८, आईतवार १८:३८

अर्घाखाँचीमा बढारियो देउवा पक्ष


अर्घाखाँची, असोज १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका हस्ती मानिनु हुने पुष्पा भुसाल र मानबहादुर विकको गृहजिल्ला अर्घाखाँचीमा छ स्थानीय तहमध्ये अधिवेशन भएका पाँचवटै पालिकामा देउवा पक्षका उम्मेदवार परिाजित भएका छन् । चार स्थानीय तहमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह विजयी भएको छ भने एक पालिकामा निर्वाचित सभापतिले आफू कुनै समूहमा नरहेको सार्वजनिक घोषणा गर्नुभएको छ ।

शनिवार भएको निर्वाचनमा पौडेल समूहको तर्फबाट सन्धिखर्क नगरपालिकाको सभापतिमा बाबुराम भुसाल, भूमिकास्थान नगरपालिकाको सभापतिमा खडानन्द बेल्वासे, छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी र मालारानी गाउँपालिकामा शोभाखर खनाल निर्वाचित हुनुभएको छ । यस्तै पाणिनि गाउँपालिकामा विजयी तुल्सी पौडेल आफू कुनै समूहमा नरहेको बताउनु भएको छ ।

छत्रदेव, मालारानी र पाणिनि गाउँपालिकामा सर्वसहमत रुपमा नेतृत्व चयन भएको हो भने अरुमा चुनाव भएको थियो। सन्धिखर्कको नगर सभापतिमा लिलाधर बस्याललाई ३० मतले पराजित गर्दै बाबुराम भुसाल निर्वाचित हुनुभएको छ भूमिकास्थानको सभापतिमा निकटतम प्रतिद्वन्द्वी खिमकुमार श्रेठलाई २७ मतले पराजित गर्दै खडानन्द बेल्वासे निर्वाचित हुनुभयो । यस्तै सन्धिखर्कमा निर्वाचित भुसालले १५५ मत प्राप्त गरी निर्वाचित हुनुभयो भने भूमिकास्थानमा निर्वाचित बेल्वासेले १०३ मत प्राप्त गर्नुभएको छ ।