जनता टाइम्स

१० आश्विन २०७८, आईतवार १८:३३

सत्ता गठबन्धनबीच आरोप-प्रत्यारोप: मन्त्री फर्काउने प्रचण्डको धम्की


काठमाडौं, १० असोज । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकछिनअगाडि बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रिमण्डल बिस्तारवारे अझै कुरो मिलेन । आजको बैठकमा भदौ २ गते जारी राजनीतिक दलसम्बन्धी अध्यादेशलाई कसरी टुंग्याउने भन्नेबारेमै छलफल केन्द्रित रहेको बताइन्छ ।‘त्यसमा प्रधानमन्त्रीले नै विशेष पहल गर्नुपर्ने र माधवजीहरुलाई विश्वास दिलाउनुपर्ने,’भन्दै माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आफ्नो धारणा राख्नुभएको थियो ।

उहाँले अध्यादेशलाई छिट्टै फिर्ता लिएर भए पनि अहिलेको अन्योलको ‘च्याप्टर क्लोज्ड’ गर्नुपर्ने बताउनुभएको स्रोतले बताएको छ ।प्रधानमन्त्रीसामु दाहालले राख्नुभएको धारणा उद्धृत गर्दै स्रोत भन्छ, ‘अब सरकार बिस्तारमा धेरै दिन अल्मलिन भएन । यस्तै हो र दुई वा तीन दिनभित्र मन्त्रिमण्डल बिस्तार नभएमा हाम्रा दुई जना मन्त्री फिर्ता गर्छौं,तर सरकारलाई समर्थन भने गरिहने छौं ।’प्रधानमन्त्रीले सँधै कुरो सार्ने गरेपछि एक जना नेताले शेरबहादुरको सट्टा तपाईंको नाम ‘सारबहादुर’ बन्ने खतरा रहेको भनेर हँसिमजाक समेत गर्नुभएको थियो । दाहाललगायत नेताले आफ्ना धारणा राखेपछि आज पनि प्रधानमन्त्रीले ‘पख्नुस्’ भन्नुभएको थियो । प्रधानमन्त्रीको “पख्नुस्”को रहस्य खोल्दै स्रोत भन्छ, ‘पश्चिमतिरको एउटा ज्योतिषले देउवालाई असोज महिना यस्तै तरिकाले कटाउनुस् भनेकाले मन्त्रिमण्डल बिस्तारमा आलटाल गर्नुभएको आशंका छ ।’

ज्योतिषले ९० दिनको खड्गो कटाएपछि मन्त्रिमण्डल बिस्तार गर्दा हुने आशयको सुझाव दिएको चर्चा छ ।प्रधानमन्त्री ज्योतिषशास्त्रमा निकै विश्वास राख्नुहुन्छ । उहाँले राजनीतिक अप्ठेरो परेको बेला ज्योतिष देखाएर निर्णय गर्दै आउनुभएकाले पनि यसपटक समेत उक्त ‘तत्व’ ले काम गरेको हुनसक्छ यद्यपि भोलि पर्सि नै केही मन्त्री थपिने सम्भावना पनि उत्तिकै छ ।सर्वोच्च अदालतको संवैधानिक इजलासले अस्ति शुक्रबार उक्त अध्यादेशको बारेमा एक किसिमले बोलिसकेकाले मन्त्रिमण्डल बिस्तारबारे आजै टुंग्याउनुपर्ने नेताहरुको माग थियो । तर प्रधानमन्त्री हिच्किचाएपछि उहाँहरु पनि अप्ठेरामा पर्नुभएको छ ।

आज बैठकमा नेताहरुले कुन कुन मन्त्रालय कुन पार्टीलाई र तिनका को कोले सपथ ग्रहण गर्ने भन्नेबार छिट्टै टुंग्याउँ भन्दा प्रधानमन्त्रीले ‘अहँ’ भन्नुभएको थियो । ‘पश्चिमतिरको एउटा ज्योतिषले देउवालाई असोज महिना यस्तै तरिकाले कटाउनुस् भनेकाले मन्त्रिमण्डल बिस्तारमा आलटाल गर्नुभएको आशंका छ ।’ एकचोटी उहाँले सल्लाह गरौंलासम्म भन्नुभएको बताइन्छ । बैठकमा प्रधानमन्त्रीले सँधै कुरो सार्ने गरेपछि एक जना नेताले शेरबहादुरको सट्टा तपाईंको नाम ‘सारबहादुर’ बन्ने खतरा रहेको भनेर हँसिमजाक समेत गर्नुभएको थियो ।

आजको बैठकमा अरु सबै दलका शीर्ष नेता उपस्थित भए पनि जसपा अध्यक्ष उपेन्द्र यादव हुनुहुन्थेन । उहाँको सट्टा डा.बाबुराम भट्टराई र महेन्द्र यादव जानुभयो । जसपाले आज पनि अध्यादेश फिर्ता लिन आग्रह गरेको छ ।तर,अध्यादेश फिर्ता लिँदा कानुनी प्रक्रियामा गडबड हुन्छ कि भन्नेमा नेकपा एकीकृत समाजवादीका नेताहरुको चासो देखिन्छ । तर यसअघिका सरकारले जारी गरेका कतिपय अध्यादेश फिर्ता लिँदा त्यसबीच भएका नियुक्ति र कानुनी कुराहरुले वैधानिकता पाएको विषयमा पनि बैठकमा छलफल भएको थियो ।