जनता टाइम्स

१० आश्विन २०७८, आईतवार १९:३६

एमालेले घटायो बिधान महाधिवेशनमा तोकिएको प्रतिनिधि कोटा


काठमाडौं, असोज १० । नेकपा एमालेले संख्या बढेपछि बिधान महाधिवेशनमा यसअघि तोकिएको कोटा घटाएको छ । आज सम्पन्न केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीको प्रस्तावलाई संशोधन गर्दै संख्या कटौती गरेको हो । स्थायी कमिटीले प्रस्ताव गरेको कोटाअनुसार प्रतिनिधिलाई सहभागी गराउँदा पाँच हजार नाघेपछि एमालेले केन्द्रीय बिभागको दुई तिहाई संख्या कटौती गरेको हो ।

स्थायी कमिटीले हरेक बिभागबाट सचिवसहित १५ जना प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेकोमा केन्द्रीय कमिटीले दुई तिहाई संख्या घटाएर पाँच जनामा सिमित गरेको हो । प्रचार बिभाग प्रमुख भट्टराईले केन्द्रीय बिभागको प्रतिनिधि संख्या घटाउँदासमेत विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि हुनेछन । एमालेको बिधान महाधिवेशन यही असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुँदैछ ।

एमाले प्रचार विभाग प्रमुख भट्टराईले प्रवासका समेत गरी ५ हजार प्रतिनिधिले भाग लिने जानकारी दिनुभयो । विधान महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यले भाग लिनेछन् । यस्तै केन्द्रीय निकायमा निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य पनि प्रतिनिधि हुनेछन । यसैगरी जिल्ला कमिटीका पदाधिकारीसहित निर्वाचन क्षेत्रबाट एक महिला र कम्तीमा एकजना दलितले जिल्लाबाट प्रतिनिधित्व गर्नेछन् । यस्तै संगठनबाट पदाधिकारीसहित वरिष्ठतम १० जना सदस्यले सहभागी हुने प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

यीबाहेक प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुख पनि बिधान महाधिवेशनका प्रतिनिधि तोकिएको छ । बिधान महाधिवेशनमा प्रस्तुत गर्नका लागि केन्द्रीय कमिटीले तीन ओटै प्रस्ताव सुझावसहित पारित गरी आजै बैठक सम्पन्न भएको छ ।